April 24, 2026, Friday
२०८३ बैशाख ११

भुपेन्द्र हत्या प्रकरणमा इन्स्पेक्टरका भाइको पनि संलग्नता, हत्याको कारण प्रहरीले अझै खोल्न सकेन

धनगढी कार्तिक ३० (ई-रैवार) 

कैलालीको लम्कीचुहा नगरपालिकाका भुपेन्द्र बडुवाल हत्या प्रकरणमा प्रहरी निरीक्षकका भाइको पनि संलग्नता रहेको रहस्य खुलेको छ । लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय बडुवाल हत्या प्रकरणमा प्रहरीका इन्स्पेक्टरका भाइ पनि फरार सूचीमा रहेको रहस्य खुलेको हो ।

भुपेन्द्रको हत्या आरोपमा फरार रहेका सात जनामध्ये एक जना इन्स्पेक्टरका भाइ पनि रहेको प्रहरी स्रोतले बताएको हो। प्रहरीको फरार सूचीमा इन्स्पेक्टरका भाइ मदन शाहीको पनि नाम छ। शाही प्रहरी इन्स्पेक्टरका भाइ रहेको रहस्य खुलेको प्रहरी स्रोतले बतायो।

हत्या प्रकरणमा प्रहरीले हालसम्म ९ जनालाई पक्राउ गरेको छ । अन्य फरार छन् । फरारको संख्या दिन प्रहरीले अस्वीकार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी प्रतीक विष्टले भने,“अनुसन्धानमै रहेकाले संख्या भन्न मिल्दैन । घटनामा एकभन्दा बढीको संलग्नता देखिएको छ । मिडियामा भन्न मिल्ने कुरा अहिले छैन ।”

नवीनसँगै अरु पनि फरार छन् । फरार सूचीमा मदन शाही पनि छन् । मदन शाही प्रहरी इन्स्पेक्टरका भाइ रहेको खुलेको छ । प्रवक्ता विष्टलाई यसबारे बुझ्दा उनले भने,“मैले पनि एकजना इन्स्पेक्टरका भाइ फरार छन् भन्ने सुनेको हुँ ।” उनले इन्स्पेक्टरको नामबारे आफूलाई जानकारी नभएको पनि बताए । तर स्रोतका अनुसार घटनामा एकजना डीएसपीका काकाका छोरा पनि फरार छन् ।

गतसाता टीकापुरमा भुपेन्द्रको हत्या भएको थियो । होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा धारिलो हतियार प्रहार गरेर भुपेन्द्रको हत्या भएको प्रहरीले दाबी गर्दै आएको छ। रावल हाल फरार छन्। नवीन टीकापुर र लम्की क्षेत्रमा लामो समयदेखि गुण्डागर्दी र विभिन्न अपराधमा संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्या आरोपमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, २० वर्षीय आर्यन देवकोटा, २० वर्षीय धिरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर पक्राउ परिसकेका छन् ।

यस्तै टीकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रवीन रिमाल, टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, बस्ने २६ वर्षीय सोहन शाह र लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ । प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रबाट आफूहरुको सूचना चुहिने डरले नवीनको समूहले उनको हत्या योजना बनाएको हुनसक्ने प्रहरी आशंका छ ।

हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोको टोली सक्रिय छ । काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । अमेरिका जाने तयारीमा रहेका उनी आवश्यक प्रक्रिया पूरा गर्न काठमाडौं आएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा थिए । तर उनको हत्या भयो । प्रारम्भिक अनुसन्धानमा भुपेन्द्रमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको देखिएको छ। हत्याको कारण अझै प्रहरीले खोल्न सकेको छैन।