धनगढी उपमहानगरले जित्यो राष्ट्रिय महिला लिग छनौटको उपाधि

काठमाडौं, कात्तिक २८ (ई-रैवार)
धनगढी उपमहानगरपालिकाले आइतबार ललितपुर महानगरपालिकालाई हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढी उपमहानगरपालिकाले आइतबार ललितपुर महानगरपालिकालाई टाइब्रेकरमा ३–१ ले हराउँदै उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको हो ।
निर्धारित समय ३–३ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरिन् । सरस्वती रोकायको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले बचाएकी थिइन् ।
ललितपुरकी निर्मला बिकले मात्र गोल गरिन् । सम्झना लावतीको प्रहार बाहिरिएको थियो भने आशा कुँवर र रजनी थोकरको प्रहार धनगढीकी गोलकिपर उषा नाथले बचाएकी थिइन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालको मैदानमा ललितपुरले दुई शून्यको अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधिबाट बञ्चित भयो । ललितपुरले १२औँ मिनेटमा मनिषा सेनले गोलबाट अग्रता लिएको थियो । त्यसको चार मिनेट वित्न नपाउँदै निर्मला बिकले ललितपुरको अग्रता दोब्बर बनाएकी थिइन् ।
२४औँ मिनेटमा सिमा रावलले गरेको गोलबाट धनगढीले पुनरागमन गर्ने प्रयास गरेको थियो । तर ३९औँ मिनेटमा रजनी थोकरको गोलबाट ललितपुरले अग्रता बढाएको थियो । धनगढीकी चन्द्रा भण्डारीले ४९ औं मिनेटमा गोल गर्दै अन्तर कपम गरिन् । ६४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरेपछि धनगढीले बराबरी गरेको थियो ।
३–३ को बराबरीमा सकिएपछि त्यसपछि खेल टाइब्रेकरमा गएको हो । त्यसमा धनगढीकी गोलकिपर उषा नाथ नायक बनिन् । जितसँगै धनगढीले ५ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । उपविजेता ललितपुरले तीन लाख रुपैयाँ जित्यो । ३१ टोलीले प्रतिस्पर्धा गरेको प्रतियोगिताबाट विजेता धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् ।
प्रतियोगितामा ‘फेयर प्ले’ अवार्ड जित्न सफल कैलालीको जानकी गाउँपालिकाले ५० हजार रुपैयाँ पुरस्कार जित्यो । धनगढीकी उषा नाथले उत्कृष्ट गोलकिपरको उपाधि जितिन् । धनगढीकै सरस्वती रोकाय उत्कृष्ट मिडफिल्डर, चन्द्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित हुँदा धनगढीकै रघुबन्दर कार्की उत्कृष्ट प्रशिक्षक घोषित भइन् । ललितपुरकी सिर्जना सिंह उत्कृष्ट रक्षक बनिन् । विधागत रूपमा उत्कृष्ट सबैले २० हजार रुपैयाँ पुरस्कार जितिन् । प्रतियोगितामा कन्काई नगरपालिकाकी दीपा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । दीपाले ५० हजार रुपैयाँ पुरस्कार जितिन् ।





प्रतिकृया दिनुहोस्