April 24, 2026, Friday
२०८३ बैशाख ११

हत्या आरोपमा आठजना पक्राउ

धनगढी, कार्तिक २४(ई-रैवार)

कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा ५ जना र अन्य तीन जनालाई पनि पक्राउ गरिएको बताए ।

एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावल, उनकी श्रीमती र छोरा महेशलाई पनि पक्राउ गरिएको बताए। ‘युवकको हत्या घटनामा होटल सञ्चालक रावलका अर्का छोरा नविनको संग्लनता देखिएको छ,’ एसपी अधिकारीले भने, ‘तर नविन भने फरार छन्। युवकको मृत्युपछि स्थानीयबाट संगम होटलमा तोडफोड गर्ने प्रयास भएपछि घटनाबारे सोधपुछसँगै रावल परिवारको सुरक्षाका लागि पनि उनीहरुलाई नियन्त्रणमा लिइएको हो।’

प्रहरीका अनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजँग शाहीसँग सोही होटलका सञ्चालक रावलको विवाद भएको थियो। आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो।

प्रहरीले बडुवालको हत्या आरोपमा अन्य ५ जनालाई पनि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले चक्कु प्रहार गरेको आरोपमा आर्यन देवकोटासहित अन्यलाई पनि पक्राउ गरिएको बताए।