डोटीमा बाढीपहिराेबाट ज्यान गुमाएका परिवारलाई राहत प्रदान

डोटी, कात्तिक २३ (ई-रैवार)
डोटीमा बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाका परिवारलाई राहत प्रदान गरिएको छ। कात्तिकको पहिलो साता परेको अविरल वर्षाका कारण बाढीपहिरोमा ज्यान गुमाएका १५ जनाको परिवारलाई सरकारले राहत उपलब्ध गराएको हो ।
डोटीका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टकाअनुसार नेपाल सरकारका तर्फबाट बाढीपहिरोमा मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति दुई लाखका दरले राहत प्रदान गरिएको हो। यसैगरी एकै परिवारका थप मृतक सङ्ख्याका आधारमा थप एक लाखका दरले राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिएका छन् ।

डोटी जिल्लामा बाढीपहिरोबाट १५ जनाको मृत्यु भएको थियो भने एकजना बेपत्ता छन्। सबैभन्दा बढी मानवीय क्षति जिल्लाको जोरायल गाउँपालिकामा भएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ। जोरायल गाउँपालिकामा मात्रै बाढीपहिरामा परी सात जनाको मृत्यु भएको थियो।
यसैगरी बाढीपहिरोबाट धनजनको क्षति भएका अन्य पीडितका लागि सरकारबाट उपलब्ध हुने रकम आएपछि यथाशीघ्र वितरण गरिने प्रमुख जिल्ला अधिकारी विष्टले बताए। उनले भने, अहिले मृतकका लागि आएको राहत रकम वितरण गरेका छौँ,अब अन्य क्षतिको रकम आए तत्कालै वितरण गर्ने छौँ।

डोटीका बाढीपहिरोपीडितलाई नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले त्रिपाल, लुगाकपडा, भाँडाकुडालगायतका सामग्री वितरण गरेको सभापति लछीराम कुँवरले जानकारी दिएका छन्।
जोरायल गाउँपालिकाले बाढीपहिराले ज्यान गुमाएका परिवारलाई किरिया खर्चस्वरुप २५ हजार उपलब्ध गराएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए। बाढीपहिराले घर जमिन बगाएपछि यहाँका अधिकांश पीडितको पालमुनि बास भएको थियो।





प्रतिकृया दिनुहोस्