April 24, 2026, Friday
२०८३ बैशाख ११

प्रधानमन्त्री देउवासहितको टोली कर्णाली र सुदूरपश्चिम बाढीपहिरोको निरीक्षणमा, यस्तो छ पूर्वनिर्धारित कार्यक्रम

धनगढी, कात्तिक ४ (ई-रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा आएको छ । प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवा सहितको टोली सहभागी छन् ।

प्रधानमन्त्री देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार टोली आज विहान काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको हो । सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भमा प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ । दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने छन् ।

ढुंगाडबाट डडेलधुरा सदरमुकाम पुगेर प्रधानमन्त्री देउवा खाना खानेछन् । दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम तय भएको छ ।

जोगबुढाबाट प्रधानमन्त्री देउवा कञ्चनपुरको महेन्द्रनगर जाने छन् । महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने छन् । त्यहाँबाट दोधारा-चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीको टोली आज धनगढीमा बास बस्ने छ । धनगढीबाट प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।