April 25, 2026, Saturday
२०८३ बैशाख १२

साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा

 धनगढी, असोज १ (ई-रैवार)

धनगढीको बसपार्कमा साढे सात करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा आएको छ । असोज १ गते संक्रान्ति तथा विश्वकर्मा पूजाको अवसर पारेर बसपार्कमा शुक्रबार गौरी शिवशंकर विजनेश प्रालि सञ्चालनमा आएको हो ।

सुदूरपश्चिमको बजारमा नेपाली उत्पादनका जुत्ता चप्पललाई बजारीकरण गर्ने उद्देश्यले बसपार्कमा होलसेल पसल सञ्चालनमा ल्याइएको सञ्चालक जयन्द्र स्वाँरले बताएका छन् । प्रालिले नेपाली उत्पादनका जुत्ता र चप्पल सुदूरपश्चिमको बजारमा पु¥याउने लक्षका साथ सञ्चालनमा ल्याइएको बताउँदै सञ्चालक स्वाँरले भने,‘विगत १४ वर्षदेखि साझेदारीमा जुत्ता चप्पलकै पसल सञ्चालन गर्दै आएको थिएँ, अहिले आएर एकल रुपमै आफ्नै घरमा होलसेल पसल सञ्चालनमा ल्याएको छु ।’

जुत्ता चप्पलकै क्षेत्रमा काम गरेको १४ वर्षको अनुभवलाई उतार्दै सुदूरपश्चिमका ग्राहकको रोजाई र आर्थिक क्षमता अनुसारका ब्राण्डेड सामान बजारीकरण गर्न थालेको उनले बताए । उनले भने,‘यहाँको भूगोल सुहाउँदो र ग्राहकको रोजाईलाई मध्यनजर गर्दै सोही अनुसारका जुत्ता चप्पल होलसेलमा खपत गराउने लक्ष्यका साथ हामीले ठूलो लगानीमा पसल सञ्चालनमा ल्याएका हौँ ।’

नेपालमै उत्पादित जुत्ता चप्पललाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले भने,‘हामीले हाम्रो पसलमा स्वदेशी बस्तुलाई प्रोत्साहन गर्नुका साथै विदेशी जुत्ता चप्पललाई विस्तारै निरुत्साहित गर्दै स्वदेशको अर्थतन्त्रमा टेवा पुगोस् भन्ने लक्ष्यका साथ पसल सञ्चालनमा ल्याएका हौँ ।’

सुदूरपश्चिमकै ९ वटै जिल्लालाई लक्षित गर्दै यहाँका ठूला खुद्रा व्यापारीलाई प्रोत्साहन गर्न समय समयमा विभिन्न छुट तथा अफर पनि दिने तयारी रहेको उनले बताए । ‘हामीले हाम्रा ग्राहक तथा उपभोक्तालाई सन्तुष्टि दिनु पनि हाम्रो धर्म हो,’ उनले भने,‘त्यही अनुसार हामीले सिजन सिजनमा विभिन्न अफर पनि दिने सोच बनाएका छौँ ।’

गौरी शिवशंकर विजनेश प्रालिको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले उद्घाटन गरे । उद्घाटनका क्रममा बोल्दै मन्त्री सोडारीले पछिल्लो समयमा व्यापार व्यवसायमा युवाहरु जोडिदै जानु सुदूरपश्चिमका लागि राम्रो भएको बताए । उनले भने,‘जयन्द्र स्वाँरले ठूलो लगानीमा सञ्चालनमा ल्याएको पसलले यहाँका अन्य युवा व्यवसायीलाई पनि ठूलो लगानीमा व्यवसाय गर्न प्रोत्साहन गर्नेछ ।’