टीकापुर घटनालाई ‘थरुहट-थारुवान विद्रोह दिवस’ मान्दै प्रदर्शन

धनगढी भदौ ७(ईरैवार)
टीकापुर घटनालाई विद्रोह दिवस मान्दै कैलालीमा थरुहट थारुवान संयुक्त मोर्चाले प्रदर्शन गरेको छ । थरुहट-थारुवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते(आजकै दिन) टीकापुर घटना भएको थियो । सो दिनलाई थरुहट-थारुवान विद्रोह दिवसका रुपमा मनाउँदै मोर्चाले प्रदर्शन गरेको हो ।
संयुक्त मोर्चाले जिल्लाको लम्कीचुहा नगरपालिकामा पर्ने बलिया चोकदेखि भल्का चोकसम्म विरोध र्यालीसहित प्रदर्शन गरेको हो । सो क्रममा उनीहरुले रेशम चौधरीसहित टीकापुर घटनाका सबै बन्दी निःशर्त रिहाइ गरिनुपर्ने, राज्यका हरेक निकायमा थारु समुदायको प्रतिनिधित्व हुनुपर्ने, आन्दोलनका क्रममा उठाइएका मागहरु पूरा गर्नूपर्ने, गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् ।
कैलालीको टीकापुरमा ६ वर्ष अघि भएको थरुहट आन्दोलनले हिंसात्मक रुप लिदा नेपाल प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका ७ सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो ।
सो घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो। चौधरी अहिले पनि जेलजीवन बिताइरहेका छन् ।





प्रतिकृया दिनुहोस्