April 25, 2026, Saturday
२०८३ बैशाख १२

सुदूरपश्चिममा परीक्षण गराउने कम हुँदा कोरोना संक्रमण पनि घट्यो

कैलाली, साउन २० (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउने क्रम घट्दै जाँदा यसको संक्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा. गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा संक्रमण हुने दर पनि घटेको देखिएको बताए ।

उनले भने, ‘‘प्रदेशमा हाल कोरोना संक्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन । सङ्क्रमण थप फैलिने जोखिम यथावत् छ ।’’ प्रदेशमा पछिल्लो पन्ध्र दिनमा लक्षण देखिएका शङ्कास्पद नौ हजार ३४९ जनाले मात्र नमूना परीक्षण गराएका छन् । यीमध्ये ६१७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

सो अवधिमा ४७६ सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । दुई जनाको मृत्यू भएको छ । सक्रिय सङ्क्रमित बिरामी घटेका छन् । पन्ध्र दिनअघि ५३६ सक्रिय सङ्क्रमित रहेकोमा आज ४३८ जना पुगेका छन् । गएको जेठ महिनासम्म उच्च रहेको कोरोना भाइरसको संक्रमण र मृत्यु दर असार महीना शुरु भएसँगै घटेको देखिएको छ ।

कोरोना भाइरस फैलिएयता प्रदेशमा आजसम्म नमूना परीक्षण गरिएका जम्मा दुई लाख ८८ हजार ३३३ जनामध्ये ४५ हजार १३३ मा संक्रमण देखिएको छ । नमूना परीक्षण गरिएको सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको झण्डै ११ प्रतिशत हो ।

पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये ३५ हजार ७८४ जना उपचारपछि घर फर्किनुभएको छ । निको हुने यो दर झण्डै ७९ प्रतिशत हो । एन्टिजेन पद्धतिबाट सङ्क्रमण पत्ता लागेर उपचार व्यवस्थापनपछि घर फर्किएकाको विवरण भने निर्देशनालयसँग छैन । नमूना परीक्षण गराउने बढ्दा संक्रमण पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस