चिसापानी-सोल्टा सडक खण्डबाट खसेको जीप भेटियो, जोशी दम्पतीको अवस्था भने अझै अज्ञात

कैलाली, साउन १६ (ई-रैवार)
कर्णाली नदीमा खसेको जीप भेटिएको छ । जिपमा सवार २ जनाको अवस्था भने अझै अज्ञात रहेको छ । कैलालीको मोहन्याल गाउँपालिका-७ को चिसापानी-सोल्टा सडक खण्डबाट कर्णाली नदीमा खसेको जिपमा सवार चन्द्रप्रकाश जोशी र उनकी श्रीमती रुवीको अवस्था अझै अज्ञात रहेको हो ।
प्रहरीका अनुसार जीप नदीमा खसेर बेपत्ता भएका चालक समेत रहेका डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता भएका हुन् । १२ वर्षीया लक्ष्मी जोशी, ४ वर्षीया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको भने हिजो नै उद्धार गरिएको थियो ।
शुक्रबार दिउँसो ‘ब्याक’ गर्ने क्रममा खसेको बा ११ च ९३८ नम्बरको जीप कर्णाली नदीमै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोरको टोली खटिएको बताउँदै प्रहरी नायब उपरीक्षक विष्टले नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत परिचालन भएको जानकारी दिए ।
‘टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको जीपको केही भाग बाहिर निकाले पनि चेसिस, इन्जिन अझै निकाल्न सकिएको छैन,’ डीएसपी विष्टले भने, ‘शनिबार बिहानैदेखि फेरि टोली खटिएर बेपत्ता जोशी दम्पतीको खोजीमा जुटिसकेको छ । जीपको बाँकी रहेको भाग पनि नदीबाट निकाल्ने प्रयास जारी छ ।’
घाइते ३ बालबालिकाको लम्कीमा सामान्य उपचारपछि नेपालगञ्ज लगिएको छ । उनीहरुको नेपालगञ्जमा उपचार भइरहेको छ । भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उपचार गरेर नेपालगञ्जबाट फर्किने बेला स-परिवार सोल्टा घुम्न जाने क्रममा जीप दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।





प्रतिकृया दिनुहोस्