सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारले मुहार फेर्दै

कैलाली, असार ६ (ई-रैवार)
वर्षौंदेखि कुरूप अत्तरिया चोकले यसपटक मुहार फेर्न थालेको छ। सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार रहेको अत्तरिया चोक यसअघि दुर्घन्धित हुनुका साथै खाल्डा खुल्डीले कुरूप अत्तरिया अब भने ‘चिटिच्याट्ट’ हुने भएको छ। अत्तरिया चौक वरपर ग्राभेलिङ गरेर तुरुन्तै कालोपत्रे निर्माण गरिने भएको छ। ‘अत्तरिया चौकमै खाल्डाखुल्डी परेर वर्षौदेखि कुरूप देखिएको थियो,’ अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले भने, ‘अब भने चोक राम्रो देखिने भएको छ।’
अत्तरिया चोकको उत्तरतर्फको सडकमा यसअघि ढल जमेर दुर्घन्धित बनेको बताउँदै उनले भने, ‘वर्षौदेखि सडकमै ढल जम्दा सोही सडक भएर आउजाउ गर्ने यात्रुलाई दुर्घन्धले थेगिनसक्नु थियो।’ अहिले भने चोक निर्माण हुन थालेपछि स्थानी हर्षित भएको उनी बताउँछन्। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका सदरमुकाम जाने प्रमुख प्रवेशद्वारका रूपमा रहेको अत्तरिया चौक नै दुर्घन्धित र खाल्डाखुल्डीले कुरूप देखिँदै आएको उनी बताउँछन्। ‘चोककै सडक फुटेर खाल्डाखुल्डी हुँदा सवारी साधन गुडाउनै मुस्किल पर्ने गरेको थियो,’ अर्का स्थानीय योगेश रावलले भने,‘धनगढीबाट रफ्तारमा आएको सवारी साधन चौकमा पुगेपछि झ्याप्प ब्रेक लगाउनु पर्ने बाध्यता थियो।’ चौकमा परेको खाल्डाखुल्डीमा कयौँपटक सवारी दुर्घटना समेत भएको उनी बताउँछन्। ढिलै भए पनि चौकको सडक निर्माण हुन थालेपछि अत्तरियाको मुहार फेरिने आशा पलाएको उनी बताउँछन्।’
मोहनापुल–अत्तरिया निर्माणाधीन ६ लेन सडक कालोपत्रे भइसकेको छ। सीमा क्षेत्र मोहनापुलदेखि सुदूरपश्चिम प्रदेश सरकारले तोकेको प्रदेशको राजधानी अत्तरिया पुग्न अहिले केही बेर लाग्दैन। चिल्लो बाटोमा मोटर गुडाउँदै जब अत्तरिया चौराहमा पुगिन्थ्यो, तब ‘धुलाम्य चौक’मा पुग्दा दुर्गम ग्रामीण क्षेत्रको ग्राभेल सडकमा सवारी सधान गुडिरहेको आभाष हुने गरेको बताउँदै उनले भने, ‘अब भने निर्माणले राम्रो बन्ने आश पलायो।’ यसअघि सामान्य वर्षा हुँदा समेत अत्तरिया चोकका खाल्डाखुल्डी भरिएर जलमग्न हुने गरेको बताउँदै उनले भने, ‘पानी नपर्दा भने चौक धुलाम्य भएर अगाडि पछाडि आएको सवारी साधान नै देखिँदैनथ्यो।’
फुटेको अत्तरिया चोकको सडक निर्माणका लागि ठेकेदारले काम थालेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर लक्ष्मणदत्त जोशीले बताए। उनले भने, ‘६ लेन सडकसँगको लेबलमा चौकमा माटो भरान गरेर असार मसान्तभित्रै निर्माण सक्नेगरी काम थालिएको छ।’ ९० लाखको लागतमा अत्तरिया चौक निर्माण भइरहेको उनले बताए। नागरिक दैनिकबाट





प्रतिकृया दिनुहोस्