आफ्नै छोरीलाई बलात्कार पछि हत्या गरेको आरोपमा बुबा पक्राउ

धनगढी, असार ३ (ई-रैवार)
आफ्नै छोरीको जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले गत जेठ २७ गते आफ्नै घरमा मृतावस्थामा फेला परेकी बालिकाको घटना शङ्कास्पद देखिएकोले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र विभिन्न व्यक्तिसँग सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा मृतकका बुवाले २७ गते आफ्नै भैँसी गोठमा लगी जबरजस्ती करणी गरी पोल खुल्ने डरले झुण्ड्याई हत्या गरेको अनुसन्धानका क्रममा खुल्न आएको जानकारी दिएका छन् ।
प्रहरीका अनुसार जेठ २७ गते भैँसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । परिवारका सदस्यले दाह संस्कारको तयारी गरिरहेको बेला इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले २७ गते नै शव नियन्त्रणमा लिएको थियो ।
‘जबरजस्ती गरेको पोल खुल्ने डरले बुवाले नै गोठमा झुण्ड्याएर हत्या गरेर आत्महत्या गरेजस्तो देखाउन खोजेको अनुसन्धानको क्रममा देखियो,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने ।
मृतकका बुबाविरुद्ध ज्यानसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।





प्रतिकृया दिनुहोस्