सेती प्रादेशिक अस्पतालमा बिहिबार ८६ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

धनगढी, जेठ २७ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा बिहिबार थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १७९ नमूना परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकाका ३२ जना, धनगढीबाहेक कैलालीका ३७ जना र अन्य जिल्लाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा हाल २६ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए । जसमध्ये २ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, १५ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ४ जना कोरोनामुक्त भएर घर फर्किएका छन् भने ९ जना अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिएका छन् ।
सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा उपचारको क्रममा ३ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।





प्रतिकृया दिनुहोस्