सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी, जेठ २५ (ई-रैवार)
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएको छ । मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत पाएका हुन ।
मुख्यमन्त्री भट्टले प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुख अर्जुनबहादुर थापाले निर्णयार्थ पेश गरेका थिए । मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ ।
सभा बैठकमा विश्वासको मत लिने क्रममा ५१ मध्ये ३० मत पाएका हुन्। मंगलबार प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै कांग्रेसका १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् । सरकार जोगिन आवश्यक पर्ने मत संख्या नपुगेमात्र मत दिने कांग्रेसले निर्णय गरेको थियो ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो । ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो ।
देशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् । तीमध्ये ७ जनामात्र ओली पक्षका छन् । यस्तै प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।
एमाले प्रदेश स्थायी कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ ।
एमालेको केन्द्रले सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने नीतिमा भएपनि सुदूरपश्चिममा माधव नेपाल पक्षको बाहुल्य भएकाले केन्द्रको निर्णय उलंघन भएको हो ।





प्रतिकृया दिनुहोस्