सुदूरपश्चिम प्रदेशसभा : विश्वासको मत सम्बन्धी प्रस्तावमा काँग्रेस तटस्थ रहने

धनगढी, जेठ २५ (ई-रैवार)
नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशसभामा तटस्थ भूमिका निर्वाह गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने भएको हो ।
माओवादी केन्द्रका मुख्यमन्त्री भट्टले केहीबेरमा प्रदेशसभामा विश्वासको मत लिने तयारी छ । त्यसअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सदनभित्रको अवस्था हेरेर निर्णय लिने निर्णय गरेको थियो ।
सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने अवस्था आएमा कांग्रेसले पनि मत दिने कांग्रेस सचेतक टेकबहादुर रैकाले बताए ।
काँग्रेस सचेतक रैकाका अनुसार प्रदेश सरकारले विश्वासको मत नपाउने अवस्थामा मात्र सरकारको निरन्तरताका लागि आफूहरुले भूमिका निर्वाह गर्नेगरी काँग्रेसले रणनीति बनाएको थियो । तर सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले नै सरकारको पक्षमा विश्वासको मत दिने निर्णय लिइसकेको र सरकारले प्रदेशसभामा बहुमत हासिल गर्ने प्रस्ट देखिएको अवस्थामा आफूहरुले तटस्थ रहने निर्णय गरेको उनको भनाइ छ ।





प्रतिकृया दिनुहोस्