सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भोलि विश्वासको मत लिने

धनगढी, जेठ २४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका हुन ।
प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ। प्रदेश सभा सचिव रामसिंह धामीले सचिवालयमा विश्वासको मत लिन मुख्यमन्त्रीबाट पत्र प्राप्त भएको बताए।
सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले शुक्रवार मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। यस्तै प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो। विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन्।
आठौं अधिवेशनको शुक्रबार बसेको दोस्रो बैठकमा बोल्दै सांसद पठानसिंह बोहराले एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षका रूपमा रहेको बताएका थिए।
यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले पनि सरकार अल्पमतमा रहेको देखिएकाले विधिपूर्वक विश्वासको मत लिन मुख्यमन्त्री भट्टलाई सुझाव दिएका थिए।
मुख्यमन्त्री भट्टको सचिवालयले प्रदेश सरकारसँग बहुमत रहेको दाबी गरेको छ। वर्तमान अवस्थामा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई एमाले माधव नेपाल पक्षले पूर्ण समर्थन गरेको छ।
सरकारमा माओवादी केन्द्रबाट मुख्यमन्त्री र अरू ४ मन्त्री रहेका छन् भने एमालेबाट ७ जना मन्त्री रहेका छन्। ११ जना सदस्य रहेको मन्त्रीमण्डलमा ७ जना मन्त्री र चार जना राज्यमन्त्री भएर जिम्मेवारी सम्हालेका छन्।
विश्वासका लिन मुख्यमन्त्रीलाई २७ मत आवश्यक छ। प्रदेश सभामा ५३ जना सदस्य रहेकोमा माओवादी केन्द्रका सांसद झपट बोहरा एमाले प्रवेश गरेपछि पदमुक्त भएका छन्।
सभामा एमालेका सभामुखसहित २५ जना सांसद रहेकोमा ओली पक्षका ७ र माधव नेपाल पक्षका १८ जना रहेका छन्। कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य रहेका छन्।





प्रतिकृया दिनुहोस्