April 24, 2026, Friday
२०८३ बैशाख १२

कैलालीमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु, के हो कालो ढुसी ?

धनगढी, जेठ २० (ई-रैवार)

कैलालीमा कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमणबाट एकजनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताललमा कालो ढुसी संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको हो।

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा. शेरबहादुर कमरले जानकारी दिए ।

‘उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका थिए,’ डा। कमरले भने, ‘आईसीयूमा राखेर उनको उपचार थालिएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भयो ।’

उपचारमा संलग्न अर्का चिकित्सक डा. अशोक श्रीपाइलीका अनुसार ती पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आयो । ‘उपचारको क्रममा उनको ओठ वरिपरि कालो दाग देखा पर्न थाल्यो । म्यूकर माइकोसिसको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार कालो ढुसीको संक्रमण पुष्टि भयो’ उनले भने ।

कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएको थियो । तर पनि उनलाई बचाउन नसकिएको डा. श्रीपाइलीले बताए ।

के हो कालो ढुसी ?

म्युकोर्माइकोसिस (कालो ढुसी) प्राकृतिक रूपमै हाम्रो वरपरको वातावरण र माटोमा पाइने एक प्रकारको ‘अवसरवादी’ ढुसी हो ।

सामान्य हिसाबमा दुर्लभ मानिने यो संक्रमण ओसिलो ठाउँमा हुने जोखिम बढी छ। जब मानिसको रोग प्रतिरोधात्मक क्षमता निकै कमजोर हुन्छ, त्यतिबेला यसको संक्रमण हुने जोखिम बढी हुन्छ।

पछिल्लो समय नेपालमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण कोभिड–१९ संक्रमित वा संक्रमण मुक्त भएका व्यक्तिहरुमा देखिएका छन्।

यो संक्रमण विरलै देखिन्छ, तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमै ध्यान पुर्‍याउनु आवश्यक छ।