April 24, 2026, Friday
२०८३ बैशाख १२

एमालेले सुदूरपश्‍चिमका नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

धनगढी, जेठ १५ (ई-रैवार)

नेकपा एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ । एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले सुदूरपश्चिम प्रदेश सरकारमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको बताएका हुन ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई २४ घण्टे स्पष्टीकरण सोधिएको एमाले प्रदेश कमिटीका सचिव रावलले जानकारी दिए ।

यस्तै राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको रावलले बताए । रावलका अनुसार प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ । मन्त्री बन्नु र विपक्षीसँग साँठगाँठ गर्नु जघन्य अपराध भएको भन्दै स्पष्टीकरणमा किन कारबाही नगर्ने २४ घण्टाभित्र जवाफ दिन भनिएको छ ।

ओली पक्षका नेताहरु मात्र भएको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेता माधवकुमार नेपाल समूहको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन फिर्ता नलिने निर्णय गर्‍यो ।

यसअघि सरकारबाट फिर्ता नभएको र स्थायी कमिटीको निर्णयविपरीत निर्णय गरेको भन्दै प्रदेश कमिटीले आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने निर्णय गर्दै केन्द्रिय कमिटीलाई पठाइसकेको छ ।