April 24, 2026, Friday
२०८३ बैशाख १२

सुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलको बैठक बस्दै

 धनगढी, जेठ १२ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले संसदीय दलको आज फेरी बैठक बस्दै छ । एमालेको स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मंगलबारका लागि बोलाइएको बैठक आपसी विवादपछि स्थगित भएको थियो ।

मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए । मंगलबार विहान ८ बजे दलको कार्यालय पुगेका केही सांसदहरू दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेर बाहिरिएका थिए । मंगलबार १२ बजेपछि पनि बैठक बसेन ।

आज बिहान सवा ८ मा सांसदहरूलाई दलको कार्यालयमा बोलाइएको छ । बैठकमा एमालेको स्थायी कमिटी बैठकले सोमबार सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको विषयमा छलफल हुने छ ।

सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले बैठकमा एमालेका सबै प्रदेशसभा सदस्यहरुलाई खबर गरिएको जानकारी दिएका छन् ।

मंगलबार नेपाल पक्षका सांसदहरूलाई मात्रै खबर गरिएको थियो भने वुधबार ओली पक्षका सांसदहरूलाई पनि खबर पुगेको छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन् ।

एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको एमाले नेताहरु बताउँछन् ।

सुदूरपश्चिम प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता प्रकाश बहादुर शाह माधव नेपाल खेमाका नेता भीम रावल निकट मानिन्छन् ।