April 24, 2026, Friday
२०८३ बैशाख १२

एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

धनगढी, जेठ १० (ई-रैवार) 

नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमाले  नेता छविलाल विश्वकर्माले दिएको जानकारी अनुसार  सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको  छ ।

एमालेले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसंगै मुख्यमन्त्री त्रिलोचन नेतृत्वको सरकार अल्पमतमा परेको छ ।सुदूरपश्चिम प्रदेश सरकारका  भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने छ।

सुदुरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका एमाले स्थायी समिती सदस्य लेखराज  भट्टले अव एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए । ‘सुदुरपश्चिममा अव चांडै हामी एमालेको सरकार बनाउन लाग्छौ,प्रदेशमा पार्टीलाई एक ढिक्का बनाएर लैजान हाम्रो प्रयत्न हुन्छ ।’ भट्टले भने । उनले पार्टीको निर्देशन सवै सांसदहरुले मान्ने विश्वास व्यक्त गरे । पार्टीको निर्देशन नमान्ने सांसदलाई विधानअनुसार कार्वाही हुने चेतावनी समेत उनले दिएका छन् ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्‍चिम प्रदेश सभामा एमालेका मात्रै २५ सांसद छन्। नेकपा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) का दुई जना सांसद छन्।