April 24, 2026, Friday
२०८३ बैशाख ११

कैलालीमा फेरी निषेधाज्ञा एक साता लम्बियो, नेपालका ७४ जिल्लामा निषेधाज्ञा

धनगढी, जेठ ३ (ई-रैवार)

कैलाली जिल्लामा फेरी निषेधाज्ञा एक साता लम्ब्याएको छ। कोरोना भाइरसको संक्रमण दरसँगै मृत्यु दर पनि बढिरहेकोले जिल्ला कोभिड(१९ संकट व्यवस्थान समिति (डीसीएमसी) को सिफारिसमा जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो।

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीएमसीको बैठकले कोरोना संक्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन सुझाव दिएको थियो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा समेत तीव्र रूपमा बढ्दै गइरहेको भन्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

नेपालका ७४ जिल्लामा निषेधाज्ञा

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपालका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हालमुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।