April 24, 2026, Friday
२०८३ बैशाख ११

सेती प्रादेशिक अस्पतालमा थप २७० जनामा कोरोना पुष्टि, ३ जना मृत्यु

धनगढी, वैशाख ३० (ई-रैवार)

सेती प्रादेशिक अस्पतालमा आज थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७७६ नमूना परीक्षण गर्दा २७० जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कोरोना संक्रमितमध्ये धनगढी उपमहानगरपालिकाका मात्रै ११८ जना रहेका छन्। धनगढीबाहेक कैलालीका १०१ जना र अन्य जिल्लाका ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा अहिले ६७ जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ५ जना भेन्टिलेटरमा, २० जना आइसियूमा, ४५ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ४ जना निको भई घर फर्किएका छन् भने थप २७ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। हाल अस्पतालको इमर्जेन्सी वार्डमा २५ पुरुष र १० महिला गरी ३५ जना उपचाररत छन्।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ।