एनएसएल प्लेअफ : काठमाडौलाई हराउँदै धनगढी फाइनलमा

काठमाडौं, वैशाख २८ (ई-रैवार)
धनगढी एफसीले मंगलबार नेपाल सुपर लिगको फाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा काठमाडौं रेजर्सलाई हराउँदै धनगढी एफसी खुकुरी नेपाल सुपर (एनएसएल) को फाइनलमा प्रवेश गरेको हो ।
धनगढीले १–० ले पछि परेको अवसथामा उत्कृष्ट पूनरागमन गर्दै अतिरिक्त समयमा काठमाडौंलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ गोलको बराबरी तथा थप गरिएको ३० मिनेटमा धनगढीले एक गोल गर्दै फाइन्लमा पुग्न सफल भएको हो ।
१०८औं मिनेटमा विशाल राईले गोल गर्दै धनगढीलाई २–१ को अग्रता दिलाए । १०५औं मिनेटमा ओलावाले ओलाडिपो अफिजको स्थानमा मैदान छिरेका रमेश दंगालको हेडर पासमा विशालले गोल गर्न सफल भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको दोस्रो हाफमा काठमाडौंले सुरुवाती अग्रता लिएपनि धनगढीले बराबरी गोल फर्काउन सफल भएका हुन् । ७५औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १–० को अग्रता दिलाए । उनले मेसौके ओलुमोउको क्रसलाई हेडमार्फत सदुपयोग गरेका थिए ।
एक गोलले पछि परेको धनगढीले पछि परेको तेस्रो मिनेटमा नै बराबरी गोल फर्काउन सफल भयो । ७८औं मिनेटमा पुजन उपरकोटीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । निशान लिम्बुको कर्नरलाई गोलरक्षक विकेश कुथुले पञ्च गरेपनि क्लियर हुन नसकेको बलमा गोलरक्षक अघि बढेको अवस्थामा पुजनले ओभर हेड किकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।
८९औं मिनेटमा सौजनको प्रहारलाई गोलरक्षक विकेशले बचाउँदै काठमाडौंको संकट टारे । त्यसअघि खेलको १६औं मिनेटमा स्टेफन विनोङ समिरको प्रहार क्रसमाबारमा लागेर फर्कदा काठमाडौं रेजर्स अग्रता लिनबाट चुक्यो । उनको प्रहारमा गोलरक्षक किरण चेम्जोङले कुनै अवसर नै पाएनन् । सोही फर्किएको बललाई सुदिल राईले नियन्त्रणमा लिन सकेनन् ।
लगत्तै १७औं मिनेटमा ओलावाले ओलाडिपो अफिजले मौका पाएपनि त्यसलाई सन्जोक राईले क्लियर गरिदिए । २८औं मिनेटमा विशाल राईले आफैले प्रहार गर्नुपर्ने बल पास दिदा टंक बस्नेतले भेट्न सकेनन् । ३७औं मिनेटमा सुदिल राईले पहिलो बार च्याप्दै गरेको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले पञ्च गर्दै बचाए । पहिलो हाफमा थप गरिएको पहिलो मिनेटमा मेसौके ओलुमोउको फ्रिकिक फितलो बन्यो ।
११५औं मिनेटमा अन्जन राईले सुवर्ण अवसर पाएपनि चुकाउँदा काठमाडौं बराबरीबाट चुक्यो । ११८औं मिनेटमा अन्जन राई पुनः फ्रि हेडरमा चुक्दा काठमाडौं जितबाट वञ्चित बन्यो ।
धनगढी एफसीका सौजन राई इमिर्जिङ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीकै फ्रान्कलिन कोटे टाला प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजारसहित ट्रफी हात पारे ।
प्ले अफको पहिलो खेलमा पराजित भएपनि काठमाडौंले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको छ । काठमाडौंले ललितपुर र बुटवल लुम्विनीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ । प्लेअफमा बुधबार ललितवुर सिटी एफसी र बुटवल लुम्विनी एफसीबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।





प्रतिकृया दिनुहोस्