सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु

धनगढी, वैशाख २३ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा एकै दिन १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र बझाङ जिल्लामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
सुदूरपश्चिम स्यास्थ्य निर्देशनालय दिपायलले दिएको जानकारी अनुसार महेन्द्रनगरको महाकाली अस्पतालमा ८ जना र धनगढीको सेती प्रादेशिक अस्पतालमा ४ जनागरी एकै दिन १२ जना कोरोना संक्रमितकोको मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरकी कोभिड सम्पर्क व्यक्ति महिन्द्रा भट्टका अनुसार महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिकाका ६ जना, दोधारचाँदनी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका एकरएक जनाको मृत्यु भएको छ । उनका अनुसार भीमदत्त नगरपालिका–३ का ७४ वर्षीय पुरुष, वडा नम्बर ४ का ७२ वर्षीय पुरुष, वडा नम्बर ५ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३५ र ५७ वर्षीय पुरुष र वडा नम्बर ८ की ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
यस्तै दोधारचाँदनी नगरपालिका–१ का ३१ वर्षीय पुरुष र शुक्लाफाँटा नगरपालिका–१० का ३६ वर्षीय पुरुषको पनि महाकाली अस्पतालमै मृत्यु भएको कोभिड सम्पर्क व्यक्ति भट्टले बताइन् ।
धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली र बझाङका थप चार जनाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिका– ४ का ८१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका–६ की ५८ वर्षीया महिला, कैलालीकै जोशीपुर गाउँपालिकाका ६० वर्षीया महिला र बझाङको दुर्गाथलीकी ८२ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए ।





प्रतिकृया दिनुहोस्