उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु

धनगढी, वैशाख २१ (ई-रैवार)
कोरोना भाइरसको संक्रमणबाट सेती प्रादेशिक अस्पतालमा थप ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा कैलाली, कञ्चनपुर, दार्चुला, बझाङ र बर्दियाका ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ की ७७ वर्षीया महिला र वडा नम्बर १३ का २२ वर्षीय पुरुषको मृत्यु भएको बताएका छन् । महिलाको मंगलबार बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको हो ।
महिलाको गत १२ गते पीसीआर रिर्पोट पोजेटीभ आएको थियो भने पुरुषको सोमबार मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकोमा एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। उनीहरुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीले कञ्चनपुरको भिमदत्त नगरपालिका १२ घर भएका ७१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ। एन्टिजेनबाट चेक गर्दा रिपोर्ट पोजेटिभ आएको र उनको मंगलबार बिहान ३ बजेको समयमा मृत्यु भएको हो।
सुचना अधिकारी शिवराज जोशीका अनुसार दार्चुलाको मालिकार्जुन गाउंपालिका वडा नम्बर ८ का ६६ वर्षीय पुरुषको एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएको थियो । उनको सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति ९ बजेको समयमा मृत्यु भएको हो।
बझाङका २६ वर्षीय पुरुषको गत १४ गते एन्टिजेनबाट चेक गर्दा रिर्पोट पोजेटिभ आएकोमा सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
यस्तै सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको मृत्यु भएको छ। सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको पीसीआर रिपोर्ट पोजेटीभ आएको र राति २ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी जोशीले बताए।





प्रतिकृया दिनुहोस्