खुकुरी नेपाल सुपर लिग : चितवनमाथि धनगढीको सानदार जित

काठमाडौँ, वैशाख १८ (ई-रैवार)
धनगढी एफसीले शनिबार नेपाल सुपर लिगमा एफसी चितवनलाई ३–० ले हराएको छ। दोस्रो हाफमा सुधारिएर प्रदर्शन गर्दै तीन गोल निस्किएपछि धनगढी एफसीले खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनमाथि ३–० को सानदार जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा धनगढीको जितमा निशान लिम्बु, ओलावाले ओलाडिपो आफिज र बुद्ध बल तामाङले गोल गरे । पहिलो हाफमा दवावमा खेलेको धनगढीले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै तीन गोल गर्न सफल भएको थियो ।
२३औं मिनेटमा शिशिर लेखीको क्रस पासमा गोरान जर्काेभिचको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले नियन्त्रणमा लिन नसकेको बललाई रिवाउन्डमा जर्ज प्रिन्स कार्कीको भली प्रहार क्रसबारमा लागेर बाहिरिदा एफसी चितवन अग्रता लिनबाट चुक्यो । २८औं मिनेटमा इलसायद सावनको प्रहार आकासिदा चितवनले अग्रता लिन सकेन ।
३२औं मिनेटमा जर्जप्रिन्स कार्कीले काउन्टर अट्याकमा पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार दोस्रो बारबाट थोरै बाहिरियो । ३६औं मिनेटमा जर्जप्रिन्स कार्कीको झन्डै ३० यार्ड टाढाको शक्तिशाली प्रहार क्रसबारमा लागेर बाहिरिदा चितवन अग्रता लिनबाट चुक्यो । ५१औं मिनेटमा सिमन्त थापाको प्रहारलाई गोलरक्षक किरण चेम्जोङले नियन्त्रणमा लिए ।
६३औं मिनेटमा निशान लिम्बुले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका हुन् । उनले निशान खड्काको क्रस पासमा गोल गरेका हुन् । ६९औं मिनेटमा ओलावाले ओलाडिपो आफिजले हेडमार्फत गोल गर्दै धनगढीको अग्रता दोब्बर पारे । जारी लिगमा उनको यो चौथो गोल हो । उनले निशान लिम्बुको क्रस पासलाई अनमार्क रहेका ओलावालेले हेडमार्फत सदुपयोग गरेका थिए ।
७९औं मिनेटमा रुडी जोनाथनको क्रस पासमा गोरान जर्काेभिचले अशोक खवासलाई विट गर्दै गोल गरेपनि उनको गोलले मान्यता पाएन । हायक रेफ्री नानीराम थापाले जर्काेभिच अफसाइड रहेको झन्डा उठाएका थिए । लगत्तै काउन्टर अट्याकमा बुद्ध बल तामाङले गोल गर्दै धनगढीलाई ३–० को जित दिलाए । टंक बस्नेतको क्रसलाई ओलावालेको प्रहारलाई बुद्धले नियन्त्रणमा लिदै सहज फिनिस गरेका थिए ।
धनगढी एफसीका बुद्ध बल तामाङ इमर्जिङ प्लेयर अफ दि म्याच चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीका निशान लिम्बु प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । जितपछि धनगढीको ४ खेलबाट ७ अंक पुगेको छ । पराजित चितवन ३ खेलबाट २ अंक जोडेर सातौ स्थानमा झरेको छ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।





प्रतिकृया दिनुहोस्