June 20, 2026, Saturday
२०८३ असार ६

समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिन्छ: मुख्यमन्त्री भट्ट

कैलाली, वैशाख १८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आर्थिक तथा सामाजिक रुपान्तरणमा श्रमिकको क्षमता, योग्यता र सीपको उचित सदुपयोग गरी प्रदेशको तीव्र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न सकिने बताएका छन्।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले ‘समृद्ध सुदूरपश्चिम निर्माण’ को लक्ष्य पूरा गर्ने आधार पनि श्रमिक वर्ग भएकाले श्रम र श्रमिक वर्गप्रति सम्मान गर्नुपर्ने बताए।

दिवसका अवसरमा मुख्यमन्त्री भट्टले स्वदेश तथा विदेशमा रहनुभएका श्रमजीवी दाजुभाइ तथा  दिदीबहिनीमा सुस्वास्थ्य, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरे।

यस्तै कोराना भाइरसको महामारीका कारणले कठिन परिस्थिति सिर्जना भएकाले स्वदेश तथा विदेशमा कामको सिलसिलामा रहेका सबैमा यस महामारीबाट बच्न सरकारद्वारा जारी स्वास्थ्यका मापदण्ड पालना गर्न जारी सन्देशमा अनुरोध गरिएको छ। रासस