April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु

धनगढी, वैशाख १४ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेति प्रादेशिक अस्पतालमा एक जना र महाकाली अस्पतालमा ३ जनागरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सेति प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले गौरीगंगा नगरपालिका वडा नम्बर ५ का ३५ बर्षिय पुरुषको उपचारको क्रममा सेति प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार मंगलबार बिहान ८ बजे उनको मृत्यु भएको हो । सोमबार सेति अस्पतालमै कञ्चनपुरको बेदकोट नगरपालिका १ का ४८ बर्षिय कोरोना संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै कञ्चनपुर महाकाली अस्पतालमा उपचाररत  ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचाररत तिनै जनाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. गोवीन्द रोकायाले बताए।

मृत्यु हुनेमा जिल्लाको भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय पुरुष, भीमदत्त नगरपालिका भाँसीका ६० वर्षीय पुरुष र भीमदत्त नगरपालिका–११ का ४० वर्षीय पुरुष रहेको डा. रोकायाले बताए।  भेन्टिलेटर र आइसियूमा राखेर उपचार गराइरहेका ती सबैको मृत्युपश्चात नेपाली सेनाले शव व्यवस्थापन गरेको छ।

हाल महाकाली अस्पतालमा २१ जना संक्रमित उपचाररत छन्। ती मध्ये ६ जना आइसियू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको कोभिड फोकल पर्सन डा. गोवीन्द रोकायाले बताए ।