सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस : पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा

धनगढी, वैशाख १२ (ई-रैवार)
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्रले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको हो ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार व्यवस्थापन केन्द्रले यस सम्बन्धी विस्तृत कार्ययोजना तयार पारिरहेको र छिट्टै लागु हुने छ ।
यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर परीक्षाका नाममा भिडभाड भएको र कक्षा सञ्चालन भएको भन्दै सीसीएमसीले सबै परीक्षा रोक्ने निर्णय गरेको उनको भनाइ छ ।
त्यसैगरी नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमानाका तत्काल बन्द गर्ने सरकारको तयारी छ । यसबारेमा सीसीएमसीले तयारी गरिरहेको उनले जानकारी दिए । यसअघि नै सीमा नाकामा हेल्थ डेस्क राख्ने भने पनि त्यो प्रभावकारी हुन सकेको छैन ।
यस्तै, कोभिड संकट व्यवस्थापन केन्द्रले पाँचसय भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ । व्यवस्थापन केन्द्रको बैठक बसेर यस्तो निष्कर्ष निकालेको परराष्ट्र मन्त्री तथा सीसीएमसीका सदस्य ज्ञवालीले जानकारी दिए ।
परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार पाँचसय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न भनिएको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको परराष्ट्र मन्त्री ज्ञवालीले भने- अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
सीसीएमसी बैठकले पहाडी जिल्लाहरुमा भने ५ सय सक्रिय संक्रमित नपुगे पनि २ सय कट्नासाथ निषेधाज्ञा लगाउन स्थानीय तहलाई अधिकार दिएको छ ।






प्रतिकृया दिनुहोस्