April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना पुष्टि, कोरोना अस्पताल संक्रमितले भरिए

धनगढी, वैशाख १२ (ई-रैवार) 

सुदूरपश्चिमका आज थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशका विभिन्न प्रयोगशालामा १ सय ३९ नमूना परीक्षण गर्दा आइतबार ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा १५ जना, महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ८ सय ३६ पुगेको छ।

सुदूरपश्चिमका कोरोना अस्पताल संक्रमितले भरिए

कोरोनाको दोस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमण दर उच्च भएपछि यहाँका अस्पतालहरु भरिएका छन् । सुदूरपश्चिम प्रदेशको प्रमुख अस्पतालको रुपमा मानिने सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल संक्रमितले भरिएको हो ।

५५ शैय्याको सो कोरोना अस्पतालमा हाल ५२ जना विरामी भर्ना गरिएको अस्पतालको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। अधिकांश विरामीको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार ५२ जना विरामीमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आईसीयूमा, २५ जना अक्सिजन सहयोगमा र १३ जना अस्सिजन मोडरेट तथा मध्यम कडा खालको लक्षण देखिएका विरामीहरु रहेका छन्।

यस्तै, कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पताल पनि कोरोना संक्रमितले भरिएको छ। अस्पतालका व्यवस्थापक दिपेन्द्र सिंह रावलका अनुसार महाकाली अस्पतालको अस्थायी कोरोना अस्पतालमा हाल ५४ जना विरामी भर्ना भएका छन्। जसमध्ये ६ जनालाई भेन्टीलेटर र १२ जनालाई अक्सिजन सहायतामा राखिएको छ।

महाकाली अस्पतालमा कोरोनाका विरामीको लागि ५० बेड आइसोलेसन, ६ बेडको आइसीयु र १८ बेड आपतकालीन बेड गरि ७४ बेडको व्यवस्था गरिएको छ।

अस्पतालकै १७ जना चिकित्सकहरुमा कोरोना संक्रमण देखिएपछि जनशक्ति समेत चरम अभाव सिर्जना भएको अस्पताल व्यवस्थापक रावलले बताए। संक्रमित चिकित्सकहरु होम आइसोलेसन र अस्पतालको आइसोलेसनमा रहेको बताइएको छ।

त्यस्तै प्रदेशको पहाडी जिल्लास्थित अस्पतालहरु पनि संक्रमितले भरिएको बताइएको छ।

सेती प्रादेशिक अस्पतालका कन्सलट्याण्ट फिजिसियन डा. निराजन शर्माले संक्रमितहरुको उपचार नियन्त्रणभन्दा बाहिर गएकोले तत्काल अक्सिजनसंगै शैया र चिकित्सकहरुको संख्या थप्न आवश्यक भएको बताए । डा. शर्माले संक्रमितहरुको उपचारका लागि शैया नपाएर पालो कुरेर बसिरहेको बताए ।

उनले कोरोना रोकथाम र नियन्त्रणका लागि लक डाउनको बिकल्प नभकएको बताए ।लापरबाहीको हद भयो । कोही पनि जिम्मेवार भएनन । जनस्वास्थ्यका मापदण्ड पटक्कै लागु भएनन, शर्माले भने, संक्रमणको बृद्धि दरले भयावह रुप लिईसक्दा पनि जनस्वास्थ्यका मापदण्ड पालना भएनन । यसले गम्भीर परिणाम निस्किने निश्चित छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय उपचारको लागि स्थान, जनशक्ति, उपकरणलगायतको व्यवस्थापनमा जुटेको मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।  व्यवस्थापनको लागि संघीय सरकारसँग पनि समन्वय जारी रहेको प्रवक्ता कार्कीले बताए।