April 24, 2026, Friday
२०८३ बैशाख ११

एमाले नेपाल समूहद्वारा सुदूरपश्चिमका जिल्ला कमिटी घोषणा, प्रदेश सह–संयोजक थापामाथि कारबाही

धनगढी, चैत २९ (ई-रैवार)

नेकपा (एमाले) नेपाल समूहले सुदूरपश्चिम प्रदेशका जिल्ला अध्यक्ष चयन गरेको छ । धनगढीमा आज पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशका संयोजक भीम रावलले जिल्ला कमिटी घोषणा गरेका हुन् । रावलले प्रदेश कमिटी बैठकले गरेका निर्णय पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।

एमाले नेपाल खनाल समूहले कैलाली जिल्ला कमिटी अध्यक्ष दीर्घ बहादुर सोडारी चयन भएका छन् । कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्षमा जीवन राज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर, कार्यालय सचिवमा मोहनसिंह रावललाई नियुक्त गरेको छ ।

नेपाल खनाल समूहले बाजुरा जिल्ला कमिटी अध्यक्षमा गगनबहादुर रावल चयन गरेका छन् । उपाध्यक्षमा जिल्ला कमिटीले चयन गर्ने बताइएकोछ । सचिवमा पुरबहादुर राउत, उपसचिव निरबहादुर शाही बनेका छन् ।

बैतडी जिल्ला कमिटीको अध्यक्षमा महादेव भट्ट, उपाध्यक्षमा कृष्ण साउद, सचिव हर्कबहादुर धानुक, उपसचिवमा गौरीदत्त भट्ट चयन भएकी छन् । अछाम जिल्ला कमिटी अध्यक्षमा शेरबहादुर कुँवर, उपाध्यक्ष नन्दबहादुर कडायत, सचिव, उपसचिव र कार्यालय सचिवको चयन जिल्ला कमिटीको बैठकले गर्ने विज्ञप्तीमार्फत् बताइएको छ ।

डडेल्धुरा जिल्ला कमिटी अध्यक्षमा डा. तारा जोशी, उपाध्यक्षमा वीरेन्द्रबहादुर बस्नेत, सचिवमा धनबहादुर साउद, उपसचिवमा शकुन्तला नगरकोटी र कार्यालय सचिवमा जिल्ला कमिटीले तय गर्ने बताइएको छ । बझाङ जिल्ला अध्यक्षमा दीलबहादुर सिंह, उपाध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिवमा दमनबहादुर भण्डारी, उपसचिवमा धनबहादुर बोहरा, कार्यालय सचिवमा सुरतबहादुर सिंह चुनिएका छन् ।

डोटी जिल्ला कमिटीको अध्यक्षमा चक्रबहादुर मल्ल, उपाध्यक्षमा दुर्गा प्रसाद ओझा बनेका छन् । सचिव जिल्लामा कमिटीको बैठकले चयन गर्ने विज्ञप्तिमा उल्लेख छ । कमिटीको उपसचिवमा मञ्जु मलासी, कार्यालय सचिवमा खड्कबहादुर कठायतलाई चयन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ वटै जिल्लामा जनसंगठन र पेशागत संगठनका प्रदेश र जिल्ला कमिटीको पुनर्गठन गर्ने निर्णय एमाले नेपाल खनाल समूहले गरेको छ । यसो गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्ने निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ ।

गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रदेश सह–संयोजक थापामाथि कारबाही

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको समूहले सुदूरपश्चिम प्रदेशका सह–संयोजक कर्णबहादुर थापालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

भीम रावल संयोजक रहेको सुदूरपश्चिम कमिटीको बैठकले प्रदेश सह–संयोजक थापालाई पार्टी कार्यालय तोडफोड र गुण्डागर्दी गरेको भन्दै एक वर्षका लागि साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।

“नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरि पार्टी विभाजन गर्नेजस्तो घातक कार्यमा संलग्न हुनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भइ पार्टीलाई विसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेकाले सुदूरपश्चिम प्रदेश कमिटीका सहसंयोजक कर्णबहादुर थापालाई नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ को (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउनुका साथै पार्टी सदस्यताबाट एक वर्ष निलम्बनका लागि सिफारिस गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।