June 20, 2026, Saturday
२०८३ असार ६

सुदूरपश्चिममा डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप दिइयो

धनगढी, चैत्र ३ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा बितेको दुई महिनामा झण्डै डेढ लाख जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार गत माघ र फागुन महिनामा यहाँका नौवटै जिल्लामा एक लाख ४९ हजार ५ सय ७९ लाई कोरोनाविरुद्धको खोप लगाइएको हो। पहिलो चरणमा यहाँ कारोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव बाहन र एम्बुलेन्समा खटिने कर्मचारी गरी गत माघ १४ गतेदेखि २४ गतेसम्म १४ हजार ८ सय ८५ लाई खोप लगाइएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

त्यसैगरी फागुन २ देखि १० गतेसम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत यहाँका नौवटै जिल्लाका २३ हजार ४ सय १७ लाई कोरोना विरुद्धको खोप लगाइएको प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीद्धारा जारी विज्ञप्तीमार्फत जानकारी गराइएको छ।

फागु्न २३ देखि २९ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा एक लाख ११ हजार २ सय ७७ जनालाई खोप लगाएको छ। यहाँ सबैभन्दा बढी कैलालीमा ४० हजार ३ सय १ जना, कञ्चनपुरमा २४ हजार ८ सय ६४, डोटीमा १४ हजार ३ सय ५७, बैतडीमा १४ हजार ९६ जनालाई खोप लगाइएको छ।

त्यसैगरी अछाममा १३ हजार ८ सय ५, बझाङमा १३ हजार ७ सय ३५, डडेल्लधुरामा १० हजार ३ सय ४०, दार्चुलामा नौ हजार ८ सय ८६ र बाजुरामा आठ हजार १ सय ९५ लाई खोप लगाइएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका किट नियन्त्रण अधिकृत हेमराज जोशीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट उपलब्ध खोप यहाँका सबै जिल्लामा लगाइएको बताए।

“पछिल्लो चरणमा ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइएको छ” उनले भने, “अहिले लगाइएका सबैलाई आगामी वैशाखमा दोस्रो डोज लगाउने भनिएको छ।”

त्यसैगरी निर्देशनालयले कैलाली, कञ्चनपुर, डोटी र अछाममा कोभिड–१९ को नमूना सङ्कलन सञ्चालन भइरहेको उनले जानकारी दिए। नमूना सङ्कलन गर्दा कैलालीमा तीन र कञ्चनपुरमा आइतबार एक जनालाई कोरोना पोजेटिभ देखिएको जोशीले जानकारी दिए।

“अछाम र डोटीमा नमूना सङ्कलन चलिरहेको छ”, उनले भने, “निर्देशनालयले स्वास्थ्यसम्बन्धी अरु नियमित कार्यक्रम पनि अघि बढाएको छ।” रासस