हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संकटमा : केन्द्रीय उपाध्यक्ष साउद

धनगढी, फागुन २७ (ई-रैवार)
हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संटकमा परेको विश्व हिन्दू महासंघकी केन्द्रीय उपाध्यक्ष ज्योत्सना साउदले बताएकी छन् ।
विश्व हिन्दू युवा संघ सुदूरपश्चिमले बिहीबार कैलालीको गोदावरीमा आयोजना गरेको बृहत् धर्मसभालाई सम्बोधन गर्दै उनले सनातनकालदेखिनै चल्दै आएको हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संटकमा परेको बताएकी हुन् ।
उपाध्यक्ष साउदले हिन्दू धर्मवलम्बीहरुका धार्मिक ग्रन्थमा लिपीवद्ध परमेश्वर, प्रकृति र जीवनसँग जोडिएको आध्यात्मिक चेतनामाथि चारैतिरबाट आक्रमण भइरहेको पनि बताइन् ।
“आज सनातनकालदेखिनै चल्दै आएको हिन्दू धर्म र पूर्वीय परम्परा गम्भीर संटकमा परेको छ,” उनले भनिन्, “श्रुतीमा आधारित वेद, पुराण तथा अन्य ग्रन्थहरुमा लिपीवद्ध परमेश्वर, प्रकृति र जीवनसँग जोडिएको आध्यात्मिक चेतनामाथि चारैतिरबाट आक्रमण भइरहेको छ ।”
उपाध्यक्ष साउदले हिन्दू धर्मावलम्बीहरुलाई प्रलोभन देखाएर धर्म परिवर्तनका लागि प्रेरित गरिने लागेको भन्दै आपत्ति पनि जनाइन् । उनले धर्म परिवर्तनको प्रयासमा लागेकाहरुले हिन्दू धर्म विपरितका परम्परागत कुरितिहरुलाई अगाडि सार्ने गरेको पनि बताइन् ।
“हिन्दू धर्मवालम्बीहरुलाई प्रलोभनमा पारेर धर्म परिवर्तनका लागि प्ररित गर्न खोजिएको छ,” उपाध्यक्ष साउदले भनिन्, “परम्परागत कुरितिहरुलाई अगाडि सारिएको छ, जुन वास्तवमा आफैँमा हिन्दू धर्म विपरितका छन् ।”
उनले संविधान परिवर्तन वा जनमत संग्रह गरेर नेपाललाई धर्म निरपेक्ष राष्ट्रबाट हिन्दू राष्ट्र कायम गर्न पनि माग गरिन् । “यदि शान्तिपूर्ण संवैधानिक प्रक्रियाबाट हिन्दू राज्य घोषणा गरिएन भने बृहत् आन्दोलनको माध्यमले हिन्दू राज्य घोषणा गर्न हामी सबै नेपालीहरु बाध्य हुने चेतावनी दिन चाहन्छौं,” उपाध्यक्ष साउदले भनिन् ।





प्रतिकृया दिनुहोस्