धनगढी उपमहानगरले बनायो ५५ कानून

धनगढी, फागुन २४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकाले ३ वर्षमा ५५ ओटा कानून निर्माण गरेको छ । शुक्रवार मात्रै तीनओटा महत्वपूर्ण विधेयकमाथि छलफल गरेर नगरसभाका सदस्यहरूले न्यायिक समिति कार्यविधि ऐन २०७४ को पहिलो संशोधन २०७७, स्वास्थ्य सम्बन्धी ऐन २०७७, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेका छन् ।
सो अवधिसम्ममा १६ ओटा वडाको आफ्नै कार्यालय भवन निर्माण र १० ओटा वडामा नगर स्वास्थ्य केन्द्रहरू स्थापना गरिएको छ । यस्तै २७ ओटा विद्यालय भवन निर्माण गरिएको उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।
खानेपानी योजनाको विकासमा धनगढी देशकै दोस्रो स्थानीय तहमा परेको दाबी उनले गरे । आफू निर्वाचित भएर आएपछि १४ ओटा ऐन, चारओटा नियमावली, ३२ ओटा कार्यविधि, तीनओटा निर्देशिका र दुईओटा आचारसंहिता गरेर ५५ ओटा कानून निर्माण भएको वडले बताए ।
धनगढी उप महानगरपालिका –१८ का वडाध्यक्ष मुरारि अधिकारीले लामो रिक्ततापछि आफुहरु स्थानीय तहमा निर्वाचित भएर आएको बताए । ‘जनतासँग अपेक्षा धेरै छन्,’ अध्यक्ष अधिकारीले भने, ‘सबै अपेक्षा यसै कार्यकालमा पूरा हुन सक्दैनन् ।’ धनगढी उपमहानगरपालिका–७ का वडाध्यक्ष सीताराम रानाले कोरोनाका बीचमा पनि महानगरपालिकामा उल्लेख्य काम भएको दाबी गरे । रासस





प्रतिकृया दिनुहोस्