April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रदेश सरकार तत्कालै बदलिहाल्ने पक्षमा छैनौ – मन्त्री भट्ट

धनगढी, पुस २० (ई-रैवार) 

नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश संयोजक तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने बताएका हुन् ।

“हामीले कसैलाई बदलिहाल्ने र कसैसंग गठबन्धन गरिहाल्नेबारे सोचेका छैनौ,” मन्त्री भट्टले भने,“उहाँहरु प्रचण्ड–माधव समूह ले के गर्नुहुन्छ र कस्ता क्रियाकलपा गर्नुहुन्छ । त्योलाई गम्भिरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेका छौ । छिट्टै स्थायी समितीको बैठक बस्छ । त्यस्ले कस्तो कदम चाल्नेबारे निर्णय गर्छ।” उनले मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरित काम गरेको बताए ।

मन्त्री भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीप्रति निकै आक्रोश व्यक्त गरे । पार्टी विभाजन पूर्व मन्त्री लेखराजका विशेष पात्र मानिने मुख्यमन्त्री त्रिलोचन भट्ट पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहमा देखिएपछि उनको आक्रोशको सीमा रहेन। सोमबार उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजनीतिक संस्कार नभएको समेत भन्न भ्याए ।

आयोजित पत्रकार सम्मेलनमा उनले भने, “उहाँको भूमिका आन्दोलनमा महत्वपूर्ण छ। त्यो आधारमा मुख्यमन्त्री बनाएका हौ। तर उहाँलाई राजनीतिक आचरण सिकाउन सकिएन्। राजनीतिक आचरण र संस्कार नभएकाले उहाँ अर्को समूहमा लाग्नु भएको हो।”

यहि २४ गते धनगढीमा हुने ओली समुहको जनसभाको तयारीका सिलसिलामा ओली समुहका सुदूरपश्चिम प्रदेश अध्यक्ष संगै धनगढी पुगेका मन्त्री भट्टले निर्वाचन तोकिएको समयमै बैशाखमा सम्पन्न हुने र अदालतको फैसला लगत्तै निर्वाचनका गतिबिधि तिब्र रुपमा अघि बढने बताए । ‘चुनाव बैशाखमै हुन्छ, ढुक्क हुनुहोस, सबैभन्दा ठुलो अदालत भनेको जनता नै भएकाले प्रतिनिधि सभा बिघटन गरि ताजा जनादेशका लागि जनता माझ आएका हौं, उनले भने– अहिले जो जता देखिएपनि बिस्तारै सबै मुल नेकपामा नै आउनेछन् ।’

एउटै पार्टीमा रहेर पनि सरकारलाई राम्रा काम गर्न नदिने र प्रतिपक्षमा बसे जस्तो गर्ने पार्टीका केही नेताका कारण प्रतिनिधि सभा बिघटन देखि पार्टीमा समुह छुट्टीएको नेता भट्टले बताए ।

नेकपा सुदूरपश्चिम प्रदेश कमिटी (ओली समूह) का अध्यक्ष कर्ण थापाले अध्यक्ष विना गरिएका सम्पूर्ण निर्णय आफुलाई अमान्य रहेकोले खारेज गर्ने बताएका छन्।

पत्रकार सम्मेलनमा रहेका ओली समुहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले अर्को समुहले यस अघि सुदूरपश्चिममा गरेका सम्पुर्ण गतिबिधि खारेज भएको समेत घोषणा गरे । उनले भने–‘नेकपाको अध्यक्ष म हु, मलाई जानकारी विना २–४ मानिस कोठामा बसेर गरिएका निर्णय र गतिबिधि खारेज गरेको घोषणा गर्दछु ।’ केही दिन अघि मात्र प्रचण्ड माधब समुहले सुदूरपश्चिम प्रदेश कमिटि बैठक धनगढीमै सम्पन्न गरि प्रदेश अध्यक्ष कर्ण थापा लगायत केही ब्यत्तिलाई कार्वाही गरि निल्म्बन गरेको जनाएको   थियो ।

सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सुदूरपश्चिम प्रदेश समितिको खाताबाट निकालिएको रकमप्रति पनि कडा आपत्ति व्यक्त गरे। खातामा रहेको रकम ३० लाख रुपैयाँ नेता भीम रावलको योजनामा निकालिएको बताए । जुन विधि पद्धति र नैतिक आचरण विपरित रहेको पनि उनको भनाइ छ।