वन्यजन्तु संरक्षणमा चासो

पुष्पराज जोशी
कैलाली, पुस २० (ई-रैवार)
भारतको दुधुवा नेशनल पार्कबाट नेपालतर्फको कैलालीको मोहनाहुँदै कञ्चनपुरको लालझाडी क्षेत्र वन्यजन्तुको ओहोर–दोहोर गर्ने पुस्तौनी बाटो हो। वन्यजन्तु यहीँ बाटो प्रयोग गर्दै नेपालको मोहना–लालझाडीसम्म पुग्छन्। लालझाडी पुरानो र घना बोटविरुवा भएको ठूलो जंगल हो। यहाँ वन्यजन्तुको वासस्थानका लागि सुरक्षित मानिनुका साथै उनीहरूको आहारका लागि प्रसस्त सम्भावना (वन्यजन्तु तथा घाँसपात) पाइन्छ।
यहीँ भएर पनि भारतको दुधुवा नेशनल पार्कबाट वन्यजन्तु मोहना हुँदै लालझाडी आउजाउ गर्ने गर्छन्। पछिल्लो समयमा नेपालतर्फको सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा वन्यजन्तुलाई आवागमन सहज होस् भनेर करिडोर (अन्तर्राष्ट्रिय जैविक मार्ग)मा बसोबास गर्नेहरूलाई जनचेतना जगाउनुका साथै वन क्षेत्रभित्र पानीका मुहान संरक्षण तथा तलाउ निर्माण गरिन थालिएको छ।
अन्तर्राष्ट्रिय जैविक मार्गमा वन्यजन्तुलाई नेपाल–भारत आउजाउ गर्न सहज होस् र मानव तथा वन्यजन्तुबीचको द्धन्द्ध न्युनीकरण गर्न डोकेबजारस्थित अमर गोकुल सामुदायिक वनका अध्यक्ष दत्तनाथ सुवेदीले किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरेको बताए।
‘वन्यजन्तुको हिँडडुल गर्ने बाटोमै रहेको बस्तीमा किसानलाई सास्ती नहोस् र मानव तथा वन्यजन्तुबीचको द्धन्द्ध कम होस् भनेरै हामीले किसानलाई जडीबुटी खेतीतर्फ आकर्षित गरेका छौँ,’ अध्यक्ष सुवेदीले भने, ‘हामी वन्यजन्तुलाई सहजता होस् भनेरै उपभोक्ताहरू खेतीपाती छोडेर जडीबुटीमा गनिने क्यामोमाइल, मेन्था र लेमन ग्रास खेती गर्न थालेका छौँ।’
यी जडीबुटीमा वन्यजन्तुले क्षति नगर्ने भएकाले मानव र वन्यजन्तुबीचको द्वन्द्व कम भई स्थानीय वन्यजन्तु संरक्षणमा लागेको उनले बताए। ‘हामीले वन्यजन्तुलाई आवत–जावतमा सहजता होस् भनेरै जडीबुटीमा आकर्षण बढाएका छौँ,’ उनले भने। यस्तै नेपालतर्फको लालझाडी जंगलमा बाह्रै महिना वन्यजन्तुलाई पानी पिउनका लागि स्रोत व्यवस्थापन भन्दै स्थानीयले ठाउँठाउँमा पोखरी निर्माण समेत गरेका छन्।
हरियाली सामुदायिक वन लालझाडी गाउँपालिका–१, का अध्यक्ष हंशराम रानाले भने आफूहरूले लालझाडीको राष्ट्रिय वनको नौरंगामा माकुरी तालको पुनर्निर्माण गरेको बताए। ‘हामीले तराई भूपरिधी कार्यक्रमसँग मिलेर राष्ट्रिय वनमा वन्यजन्तुका लागि बाह्रै महिना पिउने पानीको बन्दोबस्त गर्न माकुरी ताललाई व्यवस्थित गरेका छौँ,’ उनले भने, ‘अहिले माकुरी तालमा बाह्रै महिना पानीको स्रोत व्यवस्थापन भएको छ।’
लालझाडी गाउँपालिका–२, कसुवास्थित जयभोले सामुदायिक वन उपभोक्ता समितिले पनि सामुदायिक वन भित्रै पानीको मुहान संरक्षण गर्न ताल निर्माण गरेका छन्। उनीहरूले पनि वन्यजन्तुलाई सहजै पानी उपलब्ध गराउन भन्दै विभिन्न संघसंस्थाको सहयोगमा तलाउ निर्माण गरेका हुन्। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय जैविक मार्गमा पर्ने सामुदायिक वन होस् या राष्ट्रिय वनमा स्थानीयले वन्यजन्तुको संरक्षणका लागि विभिन्न प्रयास गरिरहेको मोहना–लालझाडी संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले बताए।
‘अन्तर्राष्ट्रिय करिडोरमा पर्ने हामी सबै सामुदायिक वनहरूले वन्यजन्तुको संरक्षणका लागि हरेक प्रयास गरिरहेका छौँ,’ उनले भने। प्रदेश वन निर्देशनालय धनगढीका प्रमुख हेमराज विष्टले अन्तर्राष्ट्रिय करिडोर रहेको लालझाडी क्षेत्रमा नेपालका तर्फबाट सामुदायिक वन तथा राष्ट्रिय वनले वन्यजन्तु संरक्षणका लागि गरिएको प्रयास सह्रानिय भएको बताए।
उनले पछिल्लो समयमा लालझाडी वन क्षेत्रमा जंगली हात्तीले छावा जन्माएको बताउँदै उनले भने,‘वन्यजन्तु संरक्षणका लागि स्थानीय सामुदायिक तथा राष्ट्रिय वनले काम गरेका कारण अहिले आएर हात्तीले पनि प्रजनन्का लागि सो क्षेत्र रोजेको छ।’ नागरिकबाट





प्रतिकृया दिनुहोस्