April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि मिति घोषणा गरेकै हैन : भण्डारी

अत्तरिया, पुस १३ (ई-रैवार) 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले निर्वाचन नगर्नका लागि चुनावको मिति घोषणा गरेको नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल भण्डारीले बताएका छन् । नेपाली कांग्रेसद्वारा आयोजित कैलाली क्षेत्र नम्बर ४ को अत्तरियामा विरोध सभालाई सम्बोधन गर्दै नेता भण्डारीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता भण्डारीले जनताको जनमतबाट प्राप्त प्रतिनिधिसभालाई अधिनायकबाद र निरंकुशता लाद्न राष्ट्रिपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले खोजेका बताउँदै उनले भने,‘अस्ती राणासँग लड्यौ, हिजो राजासँग लड्यौँ, आज गणतन्त्रका नाइके भन्नेहरुसँग सडकबाटै लड्दैछौं ।’ जनमतको अपमान गर्दै विघठित प्रतिनिधिसभालाई अदालतले पुनस्र्थापना गर्नेमा नेपाली कांग्रेस ढुक्क रहेको बताउँदै उनले भने,‘संविधानको मर्मविपरीत प्रधानमन्त्री ओलीले जनतामाथि कुठाराघात गरेका हुन् ।’ उनले म्याद हुँदै हुनै नसक्ने निर्वाचनको मिति तय गरे पनि सत्ता टिकाउनका  लागि यो कार्ड फालेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री दीघराज भाटले केपी शर्मा ओली जस्तो भ्रष्ट र कम्युनिष्टको खोल ओढेको निरंकुस प्रधानम्नत्री अहिलेसम्म कोही नभएको जिकिर गरे । हिजो राणा शासन, पञ्चायत र निरंकुश राजतन्त्रमा पनि अहिलेसम्मकै भ्रष्टचारी र सत्तालिप्सा प्रधानमन्त्री ओली जस्तो कोही नभएको धारणा उनले व्यक्त गरे ।

विरोध कार्यक्रमका सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अभिमत र बलिदानको अबमूल्यन गरेको बताए । उनले भने,‘हिजो माओवादी युद्धको मारमा परेका जनताको अभिमतलाई तुसाराघात गरेर माघ १९ को कू जस्तै लाद्न यो सरकारले खोज्यो ।’ उनले निशंकुश तानाशाही जस्तै ओलीको शासनविरुद्ध खनिँदै भने,‘हामी जस्तोसुकै परिस्थितिमा पनि जनताको पक्षमा छौं ।’ नेपाली कांग्रेस बेमौशमी चुनावको पक्षमा नभएको बताउँदै उनले भने,‘संविधानको रक्षाका लागि ज्यान आहूति दिन पनि तयार रहेका छौं ।’ लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकजुट हुन आह्वान गर्दै प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्रका पक्षमा आम नागरिक समाज र वुद्धिजीविलाई तयारी अवस्थामा रहनु पर्ने बताए ।

संसद विघटन, सर्वसत्ताबाद, अधिनायकवाद, एकाधिकारबाद, भ्रष्टाचार र अनियमितता विरुद्ध देशभरका सवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको आयोजनामा विरोध सभा भएको थियो ।