नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने – अध्यक्ष चन्द

धनगढी, पुस ४ (ई-रैवार)
नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यानं) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना हुने बताएका हुन् ।
क्यानको मङ्सिर ३ भएको भर्चुअल वार्षिक साधारणसभाले एनपिएल आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्दले बताएका छन् । तर, त्यसको मिति अझै तय नभएको उनले बताए ।
धनगढीमा शनिवार पत्रकारहरूसँग बोल्दै चन्दले संसारभर चर्चा पाउने गरी एनपिएल आयोजना गरिने बताए । उनले नेपालमा ठुला ४ लिग सम्भव हुन कठिन हुने समेत जिकिर गरे । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका डेभ वाटमोर कारण क्रिकेट विकासमा टेवा पुग्ने समेत अध्यक्ष चन्दले विश्वास व्यक्त गरे ।
अध्यक्ष चन्दले क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरूको छनौट गर्दा उनीहरूको क्षमतालाई मुख्य प्राथमिकता दिने समेत जनाए । उनले निजी स्तरमा सञ्चालन भइरहेका लिगहरूलाई पनि कानुनी दायरामा ल्याउने उनको भनाइ थियो ।
सरकारले नेपालको क्रिकेट विकासमा ध्यान दिन नसक्दा नेपाली क्रिकेटले लक्ष्य अनुसारको फड्को मार्न नसकेको आरोप लगाउँदै चन्दले आफ्नै हस्तक्षेपका कारण लथालिङ्ग भएको नेपाल क्रिकेट सङ्घ क्यानलाई माथि उठाउन पनि सरकारले कुनै पहल नगरेको बताए ।
सीमित बजेटबाट धेरै कामहरू सम्पन्न गरेको भन्दै अध्यक्ष चन्दले केही सञ्चार माध्यमहरुले पनि त्यसमा आवाज उठाउनुका सट्टा क्यानमाथीनै खनिएकोमा उनको दुखेसो थियो ।





प्रतिकृया दिनुहोस्