बर्दादेवी टूर एण्ड ट्राभल्सद्वारा ठगी धन्दा : भारतमा यात्रु अलपत्र

धनगढी, मंसिर ८ (ई–रैवार)
रोजगारीका लागि भारत जाँदै गरेको यात्रुहरु अहिले भारतका विभिन्न शहरमा अलपत्र परेका छन् । धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले यात्रुलाई भारत पठाइदिने भन्दै ठगी धन्दा गर्न थालेको हो ।
मंसिर ५ गतेका दिन दिउँसो २ बजे गाडीमा हिँडेका यात्रुहरु अहिले भारतको पुनास्थित बाउदानमा अलपत्र परेका हुन् । धनगढीबाट भारतको बेङ्लोर जाने भन्दै बर्दादेवी टूर एण्ड ट्राभल्सबाट टिकट काटेका ३३ जना र रत्नागिरी जाने ३७ जना यात्रुहरु पुनाको बाउदानमा अलपत्र परेका हुन् ।
बाउदानमा अलपत्र परेका यात्रु पुरन साउँदले ई–रैवबारलाई भिडियोकल गर्दै भने,‘हामीले धनगढी बसपार्कस्थित बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि. बाट टिकट काट्यौं, अहिले यहाँ ल्याएर अलपत्र पारियो ।’ ट्राभल्सले धनगढीबाट भारतको वेङ्लोरसम्म प्रति व्यक्ति ५ हजार भारतीय रुपैयाँका दरले टिकट असुल गरेर पुनामा अलपत्र छोडेको त्यहाँस्थित अलपत्र परेका यात्रुहरुले गुनासो गरेका छन् । यस्तै सोही ट्राभल्सले धनगढीबाट बेङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलियामा अलपत्र पारिएको थियो ।

आइतबार बेलुकी धनगढीबाट बेङ्गलोरका लागि गएका यात्रुहरुलाई भातरको पलियानजिकै ७ किलोमिटर दक्षिणको एक होटलमा लगेर बन्दक बनाइएको थियो । उनीहरुलाई कुटपिट गरिएको थियो । पलियाबाट ज्यान जोगाइ सोमबार राति ९ बजे धनगढी बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा फर्किएका २३ जना यात्रुहरुले ज्यान जोगाइदिन पत्रकारलाई गुहारेका थिए ।
उनीहरुले बसपार्ककै न्यू अछाम नेशनल गेष्ट हाउसमा आफूहरुलाई भारत जाँदा पनि रात बिताएर पैसा खर्च गराएको र अहिले पलियाबाट फर्कदाँ पनि त्यही बस्न उर्दी दिएपछि पैसा खर्चनु परेको गुनासो गरेका थिए । ई–रैबारकर्मी रिपोटिङका क्रममा गेष्ट हाउसमा पुग्दा पलियाबाट फर्केका यात्रुहरु खाना खानलाई बसेका बेला आफूले दुःख पाएको गुनासो सञ्चारकर्मीलाई सुनाएका थिए ।
यसबारे जानकारी लिन जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतीक बिष्टलाई सम्पर्क गर्दा उनले ठगी धन्दा गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए । उनले भने,‘हामी अहिल्यै तुरुन्तै बसपार्कस्थित न्यू अछाम नेशनल गेष्ट हाउस र सोही भवनमा रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि. मा गएर छानबिन गर्छौैैं ।’
यसबारे बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.को सम्पर्क नम्बर ९८५८४७७११४ मा सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।





प्रतिकृया दिनुहोस्