स्वास्थ्य सुरक्षाका मापदण्डको पालनगरी विद्यालय सञ्चालन गर्न अनुमति

धनगढी, मंसिर ८ (ई–रैवार)
स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी पठनपाठन सञ्चालन गर्न विद्यालयलाई अनुमति दिएको छ । धनगढी उप–महानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो ।
विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारलाई समेत हेरेर विभिन्न ७ वटा विकल्पको प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न भनिएको छ ।
उप–महानगरपालिकाले दिएका विकल्पमा सबै विद्यार्थी राखेर कक्षा एकै समयमा सञ्चालन गर्ने, अलग–अलग सिफ्टमा कक्षा तथा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाइ पहिले जोखिम र अवस्था हेरी सञ्चालन गर्ने विकल्प दिइएको छ ।
यस्तै, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुनेगरी पालैपालो सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुनगरी सञ्चालन गर्ने र हप्तामा केही दिन केही घन्टा सञ्चालन गर्ने विकल्प समेत विद्यालयलाइ दिईएको छ ।
उप–महानगरपालिकाले विद्यालय व्यवस्थापन समितिलाई शिक्षक, विद्यालय कर्मचारी, विद्यार्थी तथा अभिभावकको सहभागितामा अनिवार्य मास्क लगाउने, भौतिक दूरी मिलाएर बस्ने, खाजा व्यवस्थापन लगायत विद्यालयमा रहदा वा घर फर्किदा वा पुगेपछि पालन गर्नुपर्ने आचारसंहिता समेत बनाउन निर्देशन गरेको छ ।






प्रतिकृया दिनुहोस्