पार्टी विधि र पद्धति अनुसार चल्न सकेन – डा. भीम रावल

धनगढी, मंसिर ७ (ई–रैवार)
पार्टी विधि र पद्धति अनुसार चल्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्व मन्त्री डा.भीम रावलले बताएका छन । नेकपाका स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज समेत रहेका डा. रावलले यही कारणले पार्टीभित्र अहिले अन्तरविरोध चर्किएको बताएका हुन ।
धनगढीमा आईतबार प्रेस संगठन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा डा. रावलले पार्टी विधि र जनताको चाहाना अनुसार चल्न नक्दा पार्टीभित्र अहिले अन्तरविरोध चर्किएको बताएका हुन ।
डा. रावलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आ–आफ्नै धारणा अगाडी सारेको बताए । उनले भने, ‘अध्यक्षद्वयका जुन पत्रचारहरु भएका छन, त्यस सम्बन्धमा थप कुरा राख्ने भनेका छन त्यो ठिक छ ।’ यस्तै उनले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी समेत गरेका छन । उनले भने,‘यो पार्टी कुनै माटोको हाडी होईन् जो कुनै व्यक्तीले लठ्ठीले हानेर फुट्यो भन्ने वित्तिकै फुट्ने, यो पार्टी कुनै कमजोर आधारमा बनेको पार्टी होईन ।’ रावलले अगाडि थपे । ‘पार्टी फुट्न सैद्धान्तिक विषय हुनु प¥यो । प्रक्रियामा गएको हुनु प¥यो । प्रतिनिधि सभाका सदस्यको संख्या हुनु प¥यो ।’
स्थायी कमिटी सदस्य डा. रावलले स्थायी कमिटीले गरेको सरकार हेरफेरको निर्णय कार्यान्वयन हुनुपर्ने बताएका छन् ।
‘भदौ २६ को स्थायी कमिटीको बैठकबाट प्रदेश सरकार र संघीय सरकार हेरफेर गर्ने निर्णय भएको छ । कहाँ कहाँको सरकारको केके मूल्यांकन गर्ने, त्यहाँ के के फेरबदल गर्नुपर्ने आश्यकता छ तदनुकुल गर्ने भन्ने कुरा त प्रष्ट हो नि’ उनले भने, ‘तर त्यो विषयलाई कार्यान्वयन गर्नका लागि जसरी थप अगाडि छलफल र बैठक गर्नुपर्थ्यो, त्यो नगरेकोमा हाम्रो आपत्ति हो ।’
सरकार हेरफेर गर्न आवश्यक थिएन भने किन निर्णय गरेको र दुई अध्यक्षले किन अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेको भनी रावलले प्रश्न गरे । ‘तीन वर्ष बित्दाखेरि अब सरकारको समीक्षा गरेर यसलाई बाँकी दुई वर्षको अवधिमा प्रभावकारी बनाउन विभिन्न जनशक्तिको विन्यास गर्दाखेरि पनि कसरी जाने भन्ने प्रसंगको कुरा हो । पार्टीले निर्णय गरिसकेको हुनाले निर्णय कार्यान्वयन गर्ने हो भने विल्कुल अगाडि बढ्नुपर्छ । त्यतातर्फ सोच्नुपर्छ’ उनले भने ।
भागबन्डामा नभई आवश्यकतामा सरकार फेरबदलको निर्णय गरिएको बताउँदै नेता रावलले उक्त निर्णय कार्यान्वयन नभएको आपत्ति जनाए । ‘३ वर्ष बित्दा सरकारको समीक्षा गरेर बाँकी २ वर्षमा अगाडि कसरी बढाउने भन्ने बिषयले सरकार फेरबदल गर्ने भनिएको हो । भागबन्डाका लागि होइन’ उनले भने, ‘तर, त्यो विषय कार्यान्वयन प्रक्रिया अघि नबढेको विषयमा हाम्रो आपत्ति छ ।’
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पटक–पटक युवालाई राजनीति हस्तान्तरण गर्नुपर्छ भन्दै आएको कुरालाई स्मरण गर्दै नेता रावलले बोल्न भन्दा पार्टीको आधिकारिक निर्णय गरेर युवालाई राजतीति सुम्पन तयार हुन आग्रह गरे ।
बोलेर मात्रै युवालाई राजनीति हस्तान्रण हुँदैन’ नेता रावलले भने–‘त्यसका लागि पार्टीमा निर्णय गर्नुपर्दछ, ६५ बर्षमै राजनीति छोड्ने निर्णय भए सवै भन्दा पहिला म राजनीति त्याग्न तयार छु ।’





प्रतिकृया दिनुहोस्