April 18, 2026, Saturday
२०८३ बैशाख ५

सुदूरपश्चिम प्रदेशमा आज ५६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, कार्तिक २५ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका थप ५ वटा प्रयोगशालामा ३ सय ७७ जनाको परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ७७ जनाको परीक्षण गर्दा थप ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ९५ जनाको परीक्षण गर्दा  ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता कार्कीले बताए ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १९ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । उप–महानगरपालिकाको वडा नम्बर ५ का ९ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर १ का २ जना, वडा नम्बर ३, ७ र १२ का १/१ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीकै गोदावरी नगरपालिकाका ५ जना  र लम्किचुहा नगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, यस्तै बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र वेदकोट नगरपालिकाका १/१ जनामा समेत कोरोना पुष्टि भएको छ ।

उता डडेल्धुराका २ जना र डोटीको केआईसिह गाउँपालिका–६ का १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ६७ जनाको परीक्षण गर्दा १० जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ५३ जनाको परीक्षण गर्दा ८ जना र जिल्ला अस्पताल डोटीको प्रयोगशालामा २२ जनाको परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले बताए ।

अछाम कमलबजार नगरपालिकाको प्रयोगशालामा १५ जनाको परीक्षण गरेपनि सबैको रिर्पोट नेगेटिभ आएको छ ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ५२ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका झण्डै ८ हजार ५ सय जनाले कोरोना जितेका छन्  भने ४२ जनाको मृत्यु भएको छ ।