बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

टीकापुर, कार्तिक २३ (ई-रैवार)
पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ। कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन्। मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ।
‘आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा लोप हुँदै गएको छ। त्यसमाथि कोरोनाको प्रभावले मादल बनाउने पेशा थप सङ्कटमा पर्यो”, सन्देश बादी भन्छन्, ‘सबैभन्दा बढी व्यापार हुने समय दसैं र तिहारमा पनि खासै कारोवार हुन सकेन। यो समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, बनाएका मादल थन्किएका छन्।’
कुनै समय मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन्। विगतका वर्षजस्तो यसपालिको तिहारमा खासै काम नआएको गौरीगङ्गा नगरपालिका–१ माघी शिविरका खड्क बादीको भनाइ छ। ‘दसैं तिहारमा रातदिन मादल बनाउनुपथ्र्यो, यस वर्ष कामै छैन’, खड्क भन्छन्, ‘मैले यही सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल थन्किएका छन्।’
कैलालीको टीकापुर–८ सत्तीमा बादी समुदायको पुख्र्यौली पेशा संरक्षणका लागि मादल व्यवसाय सञ्चालक समिति नै गठन गरी मादल बनाउने र बेच्ने गरिँदै आएको छ। विगतका वर्षमा थारू समुदायले दसैंमा धुमधाम नाचगान गर्थे। ‘थारू समुदायको नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दसैंको रौनकता भएन’, सञ्चालक समितिका सदस्य सुरज बादीले भने, ‘थारूगाउँमा नाचगान नहुँदा मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे। यस वर्ष तिहारमा पनि बिक्री हुने छाँटकाँट छैन।’
सुरज ८० हजार खर्च गरी बनाइएका मादल थन्किएका बताउँछन्। ‘यस वर्ष रु साढे दुई लाखसम्म कमाउने समितिको योजना थियो’, सुरजले भने , ‘कोरोना महामारीका कारण हाम्रो त लगानी पनि उठ्न सकेन।’
बढ्दो आधुनिकतासँगै बादी समुदायको पुख्र्यौली पेशाको रूपमा रहेका सुल्फा र मादल बनाउने पेशासमेत लोप हुँदै गएका छन्। मानिसहरु आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा पर्न थालेको बादी समुदायका अगुवा अर्जुन बादीको बुझाइ छ। ‘पुख्र्यौली पेशा संरक्षण गर्नुपर्छ’, अर्जुनले भने , ‘तर आधुनिक बाजाले परम्परागत बाजालाई विस्थापन गर्ने देखिएको छ। यसको संरक्षणमा स्थानीय सरकारले सघाउन आवश्यक छ।’ अर्जुन मादल बनाउने पेशा बादी समुदायको पुख्र्यौली पेशामध्येको एक भएकाले नेपाली संस्कृतिको पहिचानका रूपमा जोगाउन जोड दिन्छन्।
पछिल्लोसमय नेपाली संस्कृतिमा मादलको साटो अन्य बाजा प्रयोग हँुदै आएका छन् तर पनि नेपाली संस्कृतिमा मादलको पहिचान र महत्व छुट्टै भएकाले मादलको संरक्षणमा जोड दिनुपर्ने खप्तड सांस्कृतिक परिवार टीकापुरका पूर्वअध्यक्ष तथा कलाप्रेमी नवराज रिमाल जोड दिन्छन्। ‘मादल हाम्रो पहिचानसँग जोडिएको छ’, रिमाल भन्छन्, ‘नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ। यसको संरक्षण आवश्यक छ।’
रासस





प्रतिकृया दिनुहोस्