April 18, 2026, Saturday
२०८३ बैशाख ५

प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ अन्त्येष्टि

धनगढी, कार्तिक ३ (ई-रैवार)

प्रहरी सहायक निरीक्षक गोविन्द बिकको प्रहरी उच्च सम्मानका साथ कंचनपुरको दोदा नदिमा अन्त्येष्टि गरिएको छ ।  नेपाल–भारत सीमा स्थित मोहना नदीमा आईतबार विभत्य हत्या गरेको अवस्थामा भेटिएका प्रहरी सहायक निरिक्षक बिकको सोमबार कञ्चनपुरको दोदा नदीको किर्तिपुर घाटमा उच्च सम्मान सहित अन्त्येष्टि गरिएको हो ।

मृतक गोबिन्दलाई प्रहरीको झण्डा ओडाइ अन्तिम सलामी दिइएको थियो । बिकको शोक सलामी सहित अन्त्येष्टि गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अन्त्येष्टि अगाडी प्रहरी सहायक निरीक्षक बिकको पार्थिक शरिरमा सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरिक्षक उत्तमराज सुवेदीले झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

बिकको अन्त्येष्टि कार्यक्रममा सुदुरपश्चिम प्रदेश नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङ, सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुबेदी, सिनियर प्रहरी अधिकृत र मृतक गोबिन्दका आफन्तजन तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

शनिबार साँझ नियमित गस्तीमा खटिएका प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उपमहानगरपालिका १० नेपाल–भारत सीमा स्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा मृत भेटिएको थियो ।

उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामसिह साउदको अवस्था भने अझै अज्ञात नै रहेको छ ।