April 18, 2026, Saturday
२०८३ बैशाख ५

असई बिकको हत्या प्रकरण : दोषीलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन

धनगढी, कार्तिक ३ (ई-रैवार)

धनगढीमा प्रहरीका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन भएको छ । प्रहरी सहायक निरिक्षक गोविन्द बिकको हत्यारालाई कारवाहीको माग गर्दै धनगढीमा आफन्त र स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

मृतकका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै धनगढी चौराहबाट जिल्ला प्रशासन कार्यालय अगाडि सम्म प्रदर्शन गर्दै बजार बन्द गराएका छन ।

हत्या गरिएका असई  विकलाई सहिद घोषणासँगै प्रदेश र संघीय सरकारले क्षतिपुर्ति दिनुपर्ने, १६ बर्षसम्मको पुरै तलब भत्ता दिनुपर्ने, छोरीहरुको लालनपालनसँगै उच्च  शिक्षाको व्यवस्था गर्नुपर्ने, हत्यारालाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्नुपर्ने, र मृतक विक कार्यरत चौकीको स्वर्गीय असई गोविन्द विक चौकी नामाकरण हुनुपर्ने माग गरेका छन् ।

माग सम्बोधन नभएमा कडा रुपमा आन्दोलनमा उत्र्रिने आफन्तहरुले चेतावनी दिएका छन् । यसैबीच मृतकका आफन्तहरुले शव बुझ्ने भएका छन् । आज जिल्ला प्रशासनमा भएको छलफलपछि आफन्तहरुले शव बुझ्ने भएका हुन् ।

मृतकका परिवारलाई जागीरको व्यवस्था गर्ने र २१ बर्षसम्म छोरीलाई सरकारले पढाउने तथा बिमा बापतको रकम दिने सहमतिपछि आफन्त शव उठाउन तयार भएका हुन् । मृतकको विकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । शवको पोष्र्टमार्टमपछि आफन्तलाई बुझाईने प्रहरीले जनाएको छ ।

नियमित गस्तीमा गएका बेला वेपत्ता भएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक बिक आईतबार बिहान विभत्स हत्या गरेको अवस्थामा मोहना नदीमा भेटिएका थिए । उनको घाँटी र गर्धन रेटिएको थियो भने बिकसँगै गस्तीमा निस्किएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ ।साउँदको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।