सीमा प्रहरी चौकी बहुलियामा कार्यरत सबै प्रहरी कारबाहीमा

धनगढी, असोज २६ (ई-रैवार)
प्रहरी चौकी बहुलिया, फूलबारीमा कार्यरत सबै प्रहरी कारबाहीमा परेका छन् । लापरबाही गरेको भन्दै धनगढी उप-महानगरपालिका १४ बहुलियास्थित सीमाबाट जिल्ला तानेर थप कारबाहीका लागी अनुसन्धान अघि बढाईएको हो ।
प्रहरी चौकी इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल कार्की सहितका १० जना प्रहरीहरुले पदको दुरुपयोग गरेको आरोप लागेको छ । भदौ २८ गते सोही चौकीमा एक स्थानीय अमरबहादुर चन्द मृत अवस्थामा फेला परेका थिए । सो घटनामा समेत प्रहरीले लापरबाही गरेको ठहर गर्दै ३ प्रहरीलाई कारबाहीको सिफारिस गरिएको थियो ।
केही समयअघि सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको समेत आरोप लागेपछि उनीहरूलाई जिल्ला झिकाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मुकेशकुमार सिंहले जानकारी दिए ।
प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक सिंहले सो चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको जानकारी दिए । जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुने उनले बताए । ‘उनीहरु माथि आन्तरिक छानबिन हुन्छ दोषि देखिए थप कारबाही हुन्छ ।’ प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक सिंहले भने ।
प्रहरीले लापरबाही बढेको, पदको दुरुपयोग गरेर जिल्ला तानिएको बताए पनि स्थानीयले भने तस्करसँग मिलेर असुली धन्दामा गरिरहेको आरोप समेत लगाएका छन् ।





प्रतिकृया दिनुहोस्