April 18, 2026, Saturday
२०८३ बैशाख ५

मानव अधिकार आयोगको टोलीद्वारा कारागारको अनुगमन

धनगढी, असोज १३ (ई-रैवार)

राष्ट्रिय मानव अधिकार आयोगको उच्च स्तरीय टोलीले कारागारको अनुगमन गरेको छ । आयोगका सदस्य सुदीप पाठक नेतृत्वको टोलीले कैलाली, कञ्चनपुर कारागारको निरीक्षण गरी कैदीबन्दीहरूको अवस्थाबारे अनुगमन गरेको  हो ।

आयोगको टोलीले कैलाली, कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, जिल्ला न्यायधिवक्ता, कारागार प्रमुख, बार एसोसियन तथा पत्रकार महासंघका प्रतिनिधीसँग छलफल समेत गरेको सुदूरपश्चिम प्रदेशका कार्यालय प्रमुख झंकर रावलले बताए ।

छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखहरूले कारागारको भौतिक क्षमताको कमी र आवश्यक स्वास्थ्य सामाग्रीका बावजुत पनि सुरक्षा मापदण्डको पालना भइरहेको बताएका थिए ।

नेपाल वार एशोसियसन र पत्रकार महासङ्घका प्रतिनिधीहरुले कारागार र प्रहरी हिरासतको भौतिक अवस्थामा सुधार ल्याउनु पर्ने बताए । कारागारको अनुगमन गरी सरोकारवालाहरू सँग छलफल गर्दै आयोगका सदस्य सुदीप पाठकले कारागार र प्रहरी हिरासतमा रहेका कैदी बन्दीहरूलाई सुरक्षित राख्नका लागी स्वास्थ्य परीक्षण र उपचारमा विशेष ध्यान दिन ध्यानाकर्षण गराए ।

कोरोना महामारीको समयमा कारागार तथा हिरासतमा समेत बढी जोखिम रहेकालाई उनीहरूको जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोली असोज ५ गते देखी देशभर खटिएको छ । टोलीमा आयोगका सदस्य,प्रदेश कार्यालयका सहसचिव,कार्यालय प्रमुख र अधिकृतहरू सम्मेलीत छन् । टोलीले असोज २५ भित्र देशभरका कारागारहरूको अनुगमन गर्ने छ ।