दसैँ-तिहार लक्षित सुरक्षा योजना : सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ५ प्रहरी परिचालन

धनगढी। दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ५ प्रहरी परिचालन गरिने भएको छ। चाडपर्वका बेला बढ्न सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, लागूऔषध कारोबार, सीमा अपराध र सवारी दुर्घटना नियन्त्रणका लागि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्न लागेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले तयार पारेको सुरक्षा कार्ययोजनाअनुसार प्रदेशका नौवटै जिल्लामा प्रहरी परिचालन गरिनेछ। देश तथा विदेशबाट चाडपर्व मनाउन घर फर्किने यात्रुको सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै सार्वजनिक यातायातमा हुने ठगी, बढी भाडा असुली र यात्रुमाथिको दुर्व्यवहार नियन्त्रण गरिने प्रहरीले जनाएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईका अनुसार सीमा नाकाबाट हुने भन्सार छली, लागूऔषध कारोबार, चोरी तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विशेष निगरानी बढाइनेछ।

‘सीमा नाकाबाट हुने भन्सार छली, लागूऔषध कारोबार तथा चोरीका घटनामा संलग्नलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको दायरामा ल्याउने प्रहरीको योजना छ,’ उनले भने, ‘लागूऔषध नियन्त्रण तथा विशेष कारबाहीका लागि छुट्टै विस्तृत कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने पनि सुरक्षा योजनामा उल्लेख छ।’

सुरक्षा योजनाअन्तर्गत प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, नौवटै जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइ परिचालन हुनेछन्।

चाडपर्वका बेला भीडभाड हुने बसपार्क, बस स्टप, बजार, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, ठूला व्यापारिक केन्द्र र हाटबजारमा सुरक्षा निगरानी बढाइनेछ। सार्वजनिक यातायात तथा यात्रु चढ्ने–ओर्लने स्थानमा पाकेटमारी, लुटपाट, ठगी र दुर्व्यवहार रोक्न विशेष निगरानी गरिनेछ।

यात्रुको सहायता र सुरक्षाका लागि प्रदेशका विभिन्न स्थानमा १ सय ४२ यात्रु सहायता कक्ष सञ्चालनमा राखिएका छन्। भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा नाकामा थप ४९ नागरिक तथा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

खुला सीमाको दुरुपयोग गरी हुन सक्ने चोरी, तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि सीमा क्षेत्रमा निगरानी बढाइएको छ। यसका लागि सीमा अपराध तथा तस्करी नियन्त्रण एकाइ (बीसीटीसी) गठन गरी सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको छ।

जुवातास, मदिरा र पटाका पनि निगरानीमा

दसैँ, तिहार तथा छठका बेला मादक पदार्थ सेवन, जुवातास, झैझगडा तथा कुटपिटका घटना बढ्न सक्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणमा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ। अवैध मदिराको उत्पादन, बिक्रीवितरण तथा ओसारपसारसँगै लागूऔषध सेवन र कारोबारविरुद्ध पनि निगरानी बढाइनेछ।

अवैध रूपमा भित्र्याइने भुइँचम्पा तथा पटाकाको बिक्रीवितरण, ओसारपसार र प्रयोग समेत नियन्त्रण गरिनेछ। पटाका तथा अन्य विस्फोटक पदार्थका कारण आगलागी र मानवीय क्षति हुन सक्ने भएकाले बजार तथा सीमा क्षेत्रमा निगरानी बढाइनेछ।

चाडपर्वका बेला कृत्रिम अभाव सिर्जना गरी उपभोग्य वस्तुको मूल्य बढाउने, म्याद गुज्रिएका तथा गुणस्तरहीन सामान बिक्री गर्ने र कालोबजारी गर्ने गतिविधिमाथि समेत निगरानी राखिने सुरक्षा योजनामा उल्लेख छ।

दुर्घटना रोक्न ट्राफिक व्यवस्थापनमा कडाइ

चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सवारी दुर्घटना न्यूनीकरणलाई पनि प्रहरीले प्राथमिकतामा राखेको छ। मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गति, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र यात्रुलाई अलपत्र पार्ने गतिविधि नियन्त्रण गरिनेछ।

सार्वजनिक सवारीसाधनमा महिला तथा बालबालिकामाथि हुन सक्ने दुर्व्यवहार, यात्रुसँग बढी भाडा असुल्ने तथा ठगी गर्ने घटनामाथि पनि प्रहरीले निगरानी बढाउनेछ।

फरार अभियुक्तको खोजी, आपराधिक गतिविधिमा संलग्नमाथि कानुनी कारबाही तथा प्रदेशभर शान्ति सुव्यवस्था कायम राख्ने लक्ष्यसहित सुरक्षा योजना कार्यान्वयन गरिने प्रहरीले जनाएको छ।