कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी: महामन्त्रीमा पौडेल, राणा र संग्रौला विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
अन्तिम मतपरिणामअनुसार खुलातर्फ दुई उपसभापति र दुई महामन्त्री तथा समावेशीतर्फ एक उपसभापति र महिलातर्फ एक महामन्त्री निर्वाचित भएका हुन्।
खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी ३ हजार ७३५ मतसहित पहिलो स्थानमा रहँदै निर्वाचित भएका छन्। मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गर्दै दोस्रो उपसभापतिमा बाजी मारे। प्रतिस्पर्धामा रहेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत पाए।
समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर्धी जीवन परियारलाई ८७ मतले पराजित गरे। परियारले १ हजार ६५८ मत पाउँदा फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए।
खुला महामन्त्रीमा प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मतसहित निर्वाचित भएका छन्। उनी उपसभापति र महामन्त्री पदका उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने नेता बनेका छन्। अर्का महामन्त्रीमा उदयशमशेर राणा २ हजार ३३० मतसहित निर्वाचित भए। राणाले निकटतम प्रतिस्पर्धी सुनिलकुमार शर्मालाई ७३ मतले पछि पारे। शर्माले २ हजार २५७ मत पाए।
खुला महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे।
महिला महामन्त्रीमा डिला संग्रौला ३ हजार ११८ मतसहित निर्वाचित भएकी छन्। उनले निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिना’लाई २५४ मतले पराजित गरिन्। डिनाले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत पाइन्।
यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन्। उनले श्यामकृष्ण खड्गीलाई पराजित गरेका हुन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका थिए।
कांग्रेसले १५औँ महाधिवेशनबाट पदाधिकारीको संख्या विस्तार गरेको छ। संशोधित विधानअनुसार अब एक वरिष्ठ उपसभापतिसहित चार उपसभापति र तीन महामन्त्री रहने व्यवस्था छ। चार उपसभापतिमध्ये दुई खुला, एक महिला र एक समावेशी समूहबाट तथा तीन महामन्त्रीमध्ये दुई खुला र एक महिला समूहबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।
यसअघि कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो। महाधिवेशनले केन्द्रीय कार्यसमितिको आकारसमेत बढाएर २९७ सदस्यीय बनाएको छ। सहमहामन्त्री पदको मतगणना भने जारी छ।
उपसभापति र महामन्त्रीको अन्तिम मतपरिणाम
उपसभापति — खुला (२ पद)
- चन्द्रकान्त भण्डारी — ३,७३५ (विजयी)
- मधु आचार्य — २,३४२ (विजयी)
- गोविन्द भट्टराई — १,७५२
- सुरेन्द्रराज पाण्डे — १,६७३
- धनराज गुरुङ — १,५९६
- दीपक गिरी — ९२३
- चन्द्रमोहन यादव — ७६०
उपसभापति — समावेशी (१ पद)
- विनोद चौधरी — १,७४५ (विजयी)
- जीवन परियार — १,६५८
- फरमुल्लाह मन्सुर — १,१४४
- सीता गुरुङ — १,११२
- रञ्जित कर्ण — ५६२
महामन्त्री — खुला (२ पद)
- प्रदीप पौडेल — ४,१९४ (विजयी)
- उदयशमशेर राणा — २,३३० (विजयी)
- सुनिलकुमार शर्मा — २,२५७
- गुरुराज घिमिरे — १,५१३
- नैनसिंह महर — १,१३४
- अमरसिंह पुन मगर — १,१२५
- शंकर तिवारी — १२३
- सन्तोष उपाध्याय — ९७
महामन्त्री — महिला (१ पद)
- डिला संग्रौला — ३,११८ (विजयी)
- महालक्ष्मी उपाध्याय ‘डिना’ — २,८६४
- रीता खनाल — ८०४



प्रतिकृया दिनुहोस्