अनशनरत डा. केसी र सरकार पक्षबिच सहमति : मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्रीलाई पठाइयो

धनगढी : अनशनरत डा. गोविन्द केसी र सरकार पक्षको वार्ता टोलीबिच सहमति भएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै पाँच दिनदेखि अनशनरत डा. केसी र सरकारको वार्ता टोलीबिच भएको सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाइएको छ ।
उक्त सहमतिको मस्यौदालाई अनुमोदनका लागि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई पठाइएको वार्तामा सहभागीले बताएका छन्। प्रधानमन्त्री शाहले उक्त सहमति अनुमोदन गरेपछि मात्र सहमति पत्रमा हस्ताक्षर हुनेछ।
सरकारका तर्फबाट वार्ता टोलीमा रहेका प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चूडामणि पौडेल तथा डा. केसीका तर्फबाट डा. अमृत जैसी र डा. पवन थापाबिच आइतबार र सोमबार वार्ता भएको थियो।
सेती प्रादेशिक अस्पताल धनगढीका मेसु डा. हेमराज पाण्डेको कार्यकक्षमा वार्ता टोली र केसीका प्रतिनिधिबिच छलफल भएको थियो। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य पुकार बम पनि सहभागी भएका थिए।
वार्तामा दुवै पक्षबिच सहमति भइसकेको डा. गोविन्द केसी पक्षबाट वार्तामा सहभागी डा. जैसीले जानकारी दिए। ‘हामी दुवै वार्ता टोलीबिच सहमति भइसकेको छ। सहमतिको मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री र स्वास्थ्य तथा खेलकुद मन्त्रीकोमा पठाइएको छ’, डा. जैसीले भने, ‘माथिबाट अनुमोदन भएर आएपछि हस्ताक्षर गरेर टुङ्ग्याइनेछ।’
सुदूरपश्चिम प्रदेशका बासिन्दाले चासोको रूपमा हेरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चाँडोभन्दा चाँडो सुरु गर्ने विषयमा सरकार पक्ष र डा. केसी पक्षबिच सहमति भएको हो।
दशरथ चन्द मेडिकल विश्वविद्यालयलाई चाँडोभन्दा चाँडो गर्ने विषयलाई केन्द्रमा राखेर भएको वार्तामा तीन सय शय्याको अस्पताल तत्काल सञ्चालन गर्ने र प्रक्रिया अगाडि बढाएर तुरून्तै मेडिकल कक्षा सुरु गर्ने विषयमा सहमति भएको उनले बताए।
तत्काल तीन सय शय्या अस्पताल सञ्चालनका लागि आवश्यक दरबन्दीको विज्ञापन गर्ने, सिनेटमा लगिने गरी सबै काम अगाडि बढाइने कुरामा सहमति जुटेको छ। यसैगरी चिकित्सा शिक्षाको पढाइका लागि सुरु गरिएको प्रक्रिया अवरुद्ध नगरी द्रुत रूपमा अगाडि बढाई यसै शैक्षिक सत्रदेखि सुरु गर्ने पनि सहमति भएको उनले बताए।
विवादास्पद छविका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने विषयमा पनि दुवै वार्ता टोलीबिच सहमति भएको डा. जैसीले जानकारी दिए।
उपकुलपति डा. सुनिलप्रसाद जोशीलाई प्रक्रिया अवरोध हुन नदिन तत्काल कायम राख्ने सहमति गरिएको उनले बताए। संसदबाट ऐन संशोधन गरुन्जेलसम्म जोशीलाई कायम राख्ने र त्यसपछि स्वतन्त्र प्रतिस्पर्धाबाट नयाँ उपकुलपति नियुक्ति गरिनेछ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले पाँच बुँदामा राखेका मागका विषयमा आइतबार सरकारी वार्ता टोली र डा. केसी पक्षबिच करिब ११ घण्टा लामो वार्ता भएको थियो। सोमबार दिउँसो १० बजेदेखि वार्ता सुरु भएको थियो।
डा. केसीले स्थापित नियम र मूल्य-मान्यता विपरीत स्वार्थको द्वन्द्व हुने गरी दशरथ चन्द मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगमा गरिएका गैरकानुनी र स्वार्थपरक नियुक्तिहरू तत्काल बदर गरी ऐनका विवादित प्रावधानहरू शीघ्र संशोधन गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने र मापदण्ड तथा पूर्वाधारबिना निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय वा प्रस्तावहरू तत्काल खारेज गरिनुपर्ने, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने कानुनी प्रावधान शीघ्र कार्यान्वयन गरिनुपर्ने तथा विगतका सरकारहरूसँग भएका लिखित सहमतिहरू कार्यान्वयन गरिनुपर्ने माग राखेका छन्।
यसैगरी सुदूरपश्चिम लगायत सीमावर्ती क्षेत्रका नागरिकहरू स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिक अधिकार र राष्ट्रिय आत्मसम्मानको रक्षाका लागि आवश्यक पूर्वाधार र सेवा प्राथमिकताका साथ विस्तार गरिनुपर्ने र २०८२ भदौ २३ र २४ मा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीहरूलाई कडा कारबाही गरियोस् तथा २०४६ सालदेखि हालसम्म उच्च पदस्थ राजनीतिज्ञ र पदाधिकारीहरूबाट भएका भ्रष्टाचार एवं अपराधको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने उनले माग अघि सारेका थिए।
यी माग लिएर धनगढीस्थित कृष्ण मन्दिरमा गत बिहीबारदेखि उनले २४औँ सत्याग्रह सुरु गरेका थिए। स्वास्थ्यमा जटिलता आएपछि केसीलाई शनिबार सेती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको थियो। अहिले उनको सेती प्रादेशिक अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ।





प्रतिकृया दिनुहोस्