March 11, 2025, Tuesday
२७ फाल्गुन २०८१, मंगलवार

दिपायल सिलगढी नगरपालिकाले किसानलाई थमायो बुढा र रोगी गाई

दिपायल साउन २५ (ई–रैवार): साउनको पहिलो साता दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटका किसानहरु दुध बेच्ने बन्दोबस्त मिलाउन थाले । केहीदिनमा गाउँमा ७ ओटा जर्सी गाई भित्रिदै थिए । दिपायल सिलगढी नगरपालिकाले स्थानीय ‘तेडी निमाउने गाईपालन समुह’का सात जना कृषकलाई पूर्ण अनुदानमा जर्सी गाई उपलब्ध गराउदै थियो ।
‘एउटै गाईले दैनिक १५÷२० लिटर दुध दिन्छ भन्ने सुनेका थियौ,’ स्थानीय किसान डिलबहादुर कठायत भन्छन्, ‘७ गाईको दुध एकमुष्ट धेरै हुनेभएपछि एउटा डेरीमा कुरा मिलायौ ।’ भैसीको दुध हातोहात बजारमा बिक्रि गर्ने किसानहरुले गाईको दुध एकमुष्ट गाउँबाटै डेरीले उठाएर लैजाने सहमतीमा व्यवस्था मिलाए ।
किसानहरु नगरपालिकाको अनुदानमा पाईन लागेका जर्सी गाईबाट ठुलो मात्रामा दुध उत्पादन गरेर सहज जीविकोपार्जनको सपना देखेका थिए । ‘जीवन चलाउन धौ–धौ छ,’ एकल महिला धनादेवी कठायत भन्छिन्,‘आफै किन्ने क्षमता छैन् । नगरपालिकाले दिएपछि त्यो गाई पालेर जीवन चलाउला भन्ने सपना थियो ।’
यसरी सपना पालिरहेका किसानहरु साउन ८ गते साँझ ५ बजेतिर एकैसाथ जिल्लिए । ‘एउटा गाईपनि ढंगको थिएन् । बुढा र रोगी । ती गाई पालेर केही हुन्न त्यतिबेलै लागेको थियो,’ स्थानीय किसान तुलसी कठायत सुनाउछिन् ।
गाई हस्तान्तरण गर्न नगरपालिकाको पशु सेवा इकाईका प्रमुख डिलबहादुर साउँद र नगरप्रमुख मञ्जु मलासी आएको किसानहरु बताउछन् । दुरावस्ताका गाई देखेपछि किसानहरु लिन अन्कानाउदा मेयर मलासीले ‘फ्रिमा पाउदैछौ, लिए लेउ नभए अर्कैलाई दिन्छु’ भनेर हप्काएको किसानहरु बताउछन् । साउन ८ गते हतार–हतार आएर सातवटा गाईहरु चिठ्ठा हालेर हस्तान्तरण गरी हिडेको किसानहरुको भनाई छ । यद्यपी हस्तान्तरण भएको सम्झौता पत्रमा भने असार ३१ गतेको मिति उल्लेख गरिएको छ ।

गाईहरु रोगले ग्रस्त
जर्सी गाईको दुधबाट मनग्य आम्दानी गर्ने लालसा पालेकी बृद्धा धौलीदेवी कठायत उल्टो रोगी गाईको स्याहार गर्नुपर्ने फँसादमा परेको बताउछिन् । बुझेकै दिनदेखी उनको गाई बिरामी छ । गाईको पाठेघर कुँहिएको छ । बेलाबेला पछाडीको भागबाट किरा सहितको पीप खस्छ । जसले घरै गन्हाउछ । बाँच्छो शुक्रबार म¥यो । उनका अनुसार गाई हस्तान्तरण गर्न आएका नगरपालिका पशु सेवा इकाईका अधिकृत साउँदले ‘बचाउन कठिन छ’ भनेर गएका छन् । ‘बिरामी छ भनेपछि आउनुभएको थियो । उहाँले भनेपछि औषधि किनेर पनि खुवाए,’ उनले भनिन्,‘पछि सन्चो नभएपछि मरे आफ्नै बारीमा खाता हाल्नुहोला(गाड्नुहोला) भनेर जानुभयो ।’ बिमा पाईने भएकाले चिन्ता नगर्न भनेको उनी बताउछिन् । यद्यपी मर्न लागेको गाई आफुलाई दिएको भनेर उनी आक्रोशित छिन् ।
उनको मात्र होईन सो टोलमा हस्तान्तरण गरिएका सबै गाईहरु बिरामी छन् । किसानहरुका अनुसार हस्तान्तरण गरिएकै दिन गाईहरु बिरामी अवस्थामा थिए । ‘ठिक भईहाल्छ की भनेर दिनदिनै औषधि खुवाउदै छु । दाना, घाँसपात गर्दागर्दै दिन बित्छ,’ शनीबार बिहान गाईलाई नुहाउदै गरेको अवस्थामा भेटिएका किसान डिलबहादुर कठायतले भने,‘जत्ती गरेपनि सुधार हुने होईन् । दुध दुहुन खोज्दा लात्ताले हान्छ ।’ दुधपनि निकै कम रहेको किसानहरुको गुनासो छ ।
‘दुधै छैन्, मेरो गाई त जर्सी पनि होईन,’ गाईपालन समुहका अध्यक्ष हिरा कठायत भन्छन्,‘कहाँबाट ल्याए, कस्तो ल्याए केही थाहा छैन् । कम्तीमा हामीमध्ये कसै एकलाई फर्ममा जानदिएको भए छानेर त ल्याउन सकिन्थ्यो ।’

दिपायल सिलगढी नगरपालिकाको अनुदानमा प्राप्त धौलीदेवी कठायतको बिरामी गाई । जसको बाच्छो मरिसकेको छ । यो गाईको पाठेघर कुहिएको छ ।

गाई मरे नगरको सेवाका लागि ‘अयोग्य’
किसानलाई हस्तान्तरित गाई मरेको खण्डमा नगरपालिकाले दिने सेवाका लागि अयोग्य हुने बुँदा सम्झौता पत्रमा उल्लेख छ । जसले किसानहरु त्रसित छन् । सम्झौताको बुँदा नम्बर ४ मा ‘बिरामी भएको खबर नगरी वा कुनै लापरबाहीले गाई÷भैसीहरुको मृत्यू भएमा प्रचलित कानुन अनुसार क्षतीपूर्तीको भागी हुनेछु र आगामी दिनमा नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा तथा कार्यक्रमका लागि अयोग्य भई सहभागिताबाट बञ्चित हुनेछु ।’ भनेर उल्लेख गरिएको छ । ‘रोगी र बुढा गाई दिने र यस्तो शर्तमा दस्तखत गरेर नगरपालिकाले फसाएको छ,’ धनादेवी भन्छिन,‘मेरो गाई त मर्नैलाग्यो । मलाई अब सेवासुबिधाबाट बञ्चित पार्ने ?’

प्रतिगाईको ७५ हजार
नगरपालिकाले टेण्डर गरेर प्रतिगाई ७५ हजारका दरले नगरक्षेत्रका २० जना किसानलाई हस्तान्तरण गरेको पशु सेवा इकाईका अधिकृत साउँदले बताए । जसको कुल लागत १५ लाख हुन आउछ । उनका अनुसार कञ्चनपुर बेलौरीको सिद्धबाबा गाईभैसी पालन फार्मबाट सो गाईहरु आयात गरिएका हुन् । साउँदका अनुसार ती गाईहरु पूर्ण रुपमा जर्सी होईनन् । ‘सय प्रतिशत जर्सी होईनन् । केही क्रस र होलिस्टिन जातका गाईहरु छन्,’ उनले भने । तर गाईहरु तोकिएको मापदण्ड अनुसारका नै आएको उनले दाबी गरे । उनले भने, ‘हामीले दुई सय देखी तीन सय ५० केजी र दुई वेत बसेको भनेर ठेकेदारसंग सम्झौता गरेका थियौ । सोही अनुसारका छन् ।’
अधिकृत साउँदले किसानहरुको स्याहारसुसार र गोठ ब्यबस्थापन नमिलेकोले गाईहरु बिरामी परेको र दुध नदिने समस्या भएको दाबी गरे ।
उता आपूर्ती गरेको सिद्धबाबा गाईभैसी फर्मका सञ्चालक हिरासिँह बिष्टले नगरपालिकाको सम्झौता अनुसारकै गाई आफुले आपूर्ती दिएको दाबी गरे । उनले ती गाईहरुका बरेली र हरियाणाबाट झिकाएर पु¥याएको बताए ।